मोरङको बुढीगंगा ५ नेमुवास्थित ग्रिन प्लाई उद्योगमा भीषण आगलागी भएको छ । शनिबार बिहान साढे ४ बजेदेखि सुरु भएको आगो निभाउन पूर्वका ११ वटा दमकल नेमुवा पुगेका छन् । तर अहिलेसम्म पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
सुरक्षाकर्मी र स्थानीयवासी पनि आगलागी नियन्त्रणमा जुटेपनि पूर्ण नियन्त्रणमा नआई सकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए। थापाले मोरङ, झापा, सुनसरी र सप्तरीका ११ दमकल खटिएका छन्, करिब पचास प्रतिशत जति आगो नियन्त्रणमा आएको बताएका छन् । थापाले आगलागीलाई पूर्ण रुपमा नियन्त्रण लिने प्रयास भइरहेको जानकारी दिए ।
आगलागीबाट उद्योगका कलकारखाना, तयारी सामग्री तथा करोडौं मूल्य बराबरको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण अझै आउन बाँकी रहेको छ ।



