सल्यान : जिल्लामा ११ वर्षीया किशोरीसँग विवाह गरेको आरोपमा समान उमेरका किशोरसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका १४ वर्षीय बेहुला किशोर, उनका बुवा र भाउजूलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैशाख १३ गते राति खाना खाएर सुतिसकेको अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवा बिहानै ती किशोरको घरमा पुगेर छोरीलाई फिर्ता ल्याइ प्रहरीकहाँ पुगेका थिए।

कक्षा ६ मा पढ्दै गर्दा छोरीलाई भगाएर बाल विवाह गर्ने र विवाह गराउने विरुद्ध बालिकाको बुवाले प्रहरीमा जाहेरी दिएका छन्। सोही जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

दुबै बालबालिका स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेको बुझिएको छ। यस घटनामा बाल विवाहसँगै बलात्कार समेत भएको भन्दै जाहेरी आएकाले सोही अनुसार मुद्दा प्रकृया अघि बढाइने प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिएका छन्‌।

-थाहा खबर बाट