६ वटा पार्टीबीच एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टीको झापा जिल्ला समितिले शान्तिपूर्ण रुपमा स्थानीय निर्वाचनको विरोधको तयारी गरिरहेका बेला प्रहरीले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ । राजपाले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आफूहरु राज्यबाट चौतर्फी रुपमा अपहेलित भएको जनाएको हो ।
‘हामीले निर्वाचनलाई असर नहुने गरी शान्तिपूर्ण रुपमा विरोेधका कार्यक्रम गर्ने तयारी गरिरहेका थियौँ,’ राजपा झापाका अध्यक्ष मण्डलका संयोजक सूर्यनारायण गणेशले भने, ‘कार्यक्रम गर्ने बेलामा प्रहरीले हामीलाई शुक्रबार साँझ १ घण्टा नियन्त्रणमा लियो ।’ संयोजक गणेशले झापामा राजपाले निर्वाचनमा असर पर्ने कुनै गतिविधि नगर्ने बताएका छन् । केही ठाउँमा कोणसभा गर्ने र कालो झण्डा देखाउने कार्यक्रम तय गरिएको उनले बताए ।
‘हामी प्रहरी प्रशासन, दलका कार्यकता र उम्मेद्वारलाई असर पर्ने कुनै कार्यक्रम गर्दैनौँ,’ संयोजक गणेशले भने, ‘साङ्केतिक विरोधस्वरुप बिर्तामोडको मुक्तिचोकमा मसाल जुलुस निकाल्ने र कोणसभा गर्ने कार्यक्रम थियो । सिडिओलाई जानकारी पनि गराएका थियौँ । तर, कार्यक्रमको तयारी हुँदै गर्दा प्रहरीले हामीलाई घेरा हाल्यो ।’
कार्यक्रममा जानका लागि बिर्तामोड ४ स्थित अध्यक्ष मण्डलका सदस्य अनुतसिंह राजवंशीका घरमा राजपाका कार्यकर्ता भेला हुँदै गर्दा प्रहरीले घेरा हालेर विरोध प्रदर्शनका लागि तयार गरिएका सम्पूर्ण सामाग्री खोसेर लगेको राजपाले आरोप लगाएको छ । इ-नया पत्रिका बाट



