प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच १ घण्टादेखि छलफल भइरहेको छ ।
देउवालाई भेट्न बुधवार अपराह्न एमाले नेतासहित प्रधानमन्त्री ओली देउवा निवास बूढानीलकण्ड पुगेका हुन् ।
वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले त्यसै विषयमा कुरा गर्न सभापति देउवासँग भेटेको कांग्रेस स्रोतले बतायो । ओली र देउवाबीचको भेटवार्तामा दुवै पक्षका शीर्ष नेता सहभागी छन् ।
कांग्रेससँगको छलफलमा उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र एमाले संसदीय दलका उपनेता समेत रहेका संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ सहभागी छन् ।
कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्ण सिटौला लगायत छन् । मंगलवार मात्र कांग्रेस पदाधिकारी बैठकले विश्वासको मत असफल गराउने निर्णय गरेको थियो ।
-लोकान्तर बाट



