नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेपाली सभापति शेरबहादुर देउवा शनिबार संसदीय दलको बैठकमा निकै प्रष्ट देखिएको संसदहरुले बताएका छन् ।

उनीहरुका अनुसार देउवाले प्रष्ट भनेका छन्, ‘जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष अधिवेशन शुरु हुनु दुई दिनअघि शनिबार बिहान पदाधिकारी बैठक बसेको थियो भने दिउँसो संसदीय दलको बैठक । दुवै बैठकमा सभापति देउवा यसअघिभन्दा प्रष्टताका साथ प्रस्तुत भएको कांग्रेस नेताहरुले बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकको शुरुमा बोलेका सभापति देउवाले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा उभिन निर्देशन दिए । साथै उनले यो सरकार बदल्नुपर्ने बताए ।

त्यसपछि दिलेन्द्रप्रसाद बडू, गगनकुमार थापा लगायतका सांसदहरुले आफ्नो धारणा राखे । उनीहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने मत राखेका थिए । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकार परिवर्तन गर्नुपर्ने मतमा आफू सहमत भएपनि अविश्वासको प्रस्ताव राखेर काम नहुने धारणा राखे ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आएपछि अहिले दर्ता गरेको अविश्वास प्रस्ताव के हुन्छ भन्ने केहीबेर बहस भयो । सांसद मिनेन्द्र रिजालले यसबारे बोलेपछि सभापति देउवा फेरि बोले । उनले अविश्वासको प्रस्ताव दर्ता गर्ने नगर्ने ? यसको संवैधानिक जटिलताबारे छलफल गर्न नेताहरुलाई आग्रह गरे ।

तर यो सरकारलाई विस्थापित गर्ने र नयाँ सरकार बनाउनुपर्छ भन्ने प्रष्ट मत राखेको सांसदहरुले बताएका छन् । सांसद प्रकाश रसाइली स्नेही भन्छन्, ‘सभापतिले विश्वासको मत नदिने मात्र होइन, यो सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्छ । त्यसका लागि सबै दलसँग छलफल भइरहेको छ भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए अल्पमतको सरकार बनाएर संसद भंग गर्नसक्ने विश्लेषण सुनाएका देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि समेत आशंका व्यक्त गरे । राष्ट्रपतिले दल फुटाउने जुटाउने भूमिका खेल्नु उपयुक्त नहुने धारणा सभापति राखेको सांसद बहादुरसिंह लामाले बताए ।

बैठकले प्रधानमन्त्री ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गर्दै बैठकले विश्वासको मत नदिन अरु दललाई पनि आग्रह गरेको छ ।

स्रोतका अनुसार बैठकको निर्णयमा अविश्वासको प्रस्ताव दर्ताबारे लेख्ने कि नखेल्ने भनेर छलफल भएको थियो । सभापति देउवाले ‘यो निर्णय लेख्ने भन्दा पनि गर्ने हो, त्यसका लागि दलहरुसँग छलफल भइरहेको छ’ भनेका थिए ।

-अनलाइन खबर बाट