काठमाडौं। सत्तारुढ दल एमाले आन्तरिक विवादका कारण विाजनको डिलमै पुगेका बेला विभाजन रोक्न भन्दै अन्तिम प्रयास स्वरुप एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु र माधव नेपालबीच वार्ता शुरु भएको छ।

सिंहदवारमा यतिबेला वार्ता जारी रहेको नेता नेपाल निकट नेता मेटमणी चौधरीले जानकारी दिए। उनका अनुसार ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी छन् भने माधव नेपाल समूहबाट नेता नेपाल स्वयम र योगेश भट्टराई सहभागी छन्। नेता चौधरीले भने, ‘उहाँहरुले भेटौं भनेपछि छलफल शुरु भएको छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार संसदमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्ताव अघि नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ। गत बुधबार यता भएका सघन वार्ताहरुमा ओली समूहले सकरात्मक प्रस्ताव नल्याएको भन्दै माधव समूहले शनिबार सामूहिक राजीनामा दिने निष्कर्ष निकालेको थियो।

राजीनामाका लागि हस्ताक्षर बोकेर बसेको माधव समूहले ओलीले मिलनको ढोका नखोले राजीनामा दिने बताएको छ भने ओली समूहले अहिलेसम्म मिलनविन्दुबारे कुनै प्रस्ताव ल्याएको छैन। अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अहिलेकै पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी हुन भनिरहेका छन् भने माधव समूहले २०७५ जेठ २ गतेकै विन्दुबाट बैठक शुरु हुनुपर्ने अडान लिएका छन्।

सिंहदरबारमा आइतबार जारी वार्ता पार्टीको विभाजन रोक्ने अन्तिम प्रयास भएको दुबै समूहका नेताहरुले बताएका छन्।