जनता समाजवादी पार्टी एकताअघिकै अवस्थामा संसद्मा प्रस्तुत हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा जसपाका नेताहरु एकताअघिकै अवस्थामा प्रस्तुत हुने निर्णयमा पुगेका हुन् ।

जसअनुसार उपेन्द्र यादव र बाबुराम भट्टराईले विश्वासको मतको विपक्षमा मतदान गर्ने छन् । यो निर्णय भट्टराईको टोखा स्थित निवासमा भएको हो । तर, पूर्व राजपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो भने कुनै पनि पक्षमा नउभिने र तटस्थ बस्ने निर्णयमा पुगेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार साँझ भट्टराई निवास टोखामा बसेको शीर्ष नेताहरूको बैठकमा जसपाका सांसदहरूलाई ओलीको विपक्षमा भोट दिने या तटस्थ बस्ने भन्नेमा ह्विप नलाग्ने निर्णय भएको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए । ‘जसपाका सांसदहरुले विपक्षमा मतदान गर्ने हुने छ या तटस्थ बस्नु हुने छ । यसमा ह्विप लाग्दैन’यादवले भने‘तर प्रधानमन्त्रीको पक्षमा भोट दिन पाउनु हुनेछैन ।’ आफूहरुले ओलीको विपक्षमा भोट दिने प्रष्ट पारे । ‘हामीले विश्वासको मतको विपक्षमा भोट दिने भएका छौ’यादवले भने ।

कुनै पनि हालतमा पार्टीलाई प्रधानमन्त्री ओलीका पक्षमा उभिन नदिने यो निर्णयमा बाबुराम र उपेन्द्र सफल देखिएका छन् । यस्तै महन्थ र राजेन्द्रको ओली पक्षमा उभिने लामो प्रयास असफल भएको यो निर्णयले देखाएको छ । बैठकको निर्णयमा भने आफ्ना सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिइने भनिएको छ ।

पार्टी पदाधिकारीहरुको आइतबार बसेको बैठकले सांसदहरूलाई ह्विप नलगाउने निर्णय गरेको हो । हाल संसद्मा जसपा चौंथो शक्तिका रूपमा छ । यस्तै कांग्रेस दोस्रो तथा माओवादी केन्द्र तेस्रो शक्तिका रूपमा छ ।

कांग्रेस र माओवादी केन्द्र भने प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गराएर वैकल्पिक सरकार बनाउने प्रयासमा छन् । यो प्रयासमा उनीहरु निरन्तर छलफल पनि गरिरहेका छन् । कांग्रेस-माओवादीको यो प्रयासलाई बाबुराम र उपेन्द्रलेसमेत साथ दिने बताउँदै आइरहेका छन् ।

आइतबार बिहान महन्थ-राजेन्द्रले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए र तटस्थ बस्ने बताएका थिए ।

जसपाका ६ नेतालाई शीर्ष नेता मानिएको छ । शीर्ष नेताहरूमा भट्टराई, यादव, ठाकुर, महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ छन् । ओली सरकारको पक्षमा र विपक्षमा जसपा सुरु देखिनै विभाजित छ । सरकारको विषयमा राखेको धारणा र अडानले पार्टी विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरूको बैठकले पार्टी विभाजन नहुने गरी बीचको बाटो निकालेको हो ।

-हम्रकुरा बाट