सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएर दलको ह्वीप उल्लंघन गर्ने सांसदहरुमाथि कारबाही चलाउने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद बैठकपछि बोल्दै यसलाई गम्भीर घटना भएको बताएका छन्।
'दलको ह्वीप उलंघन संसदीय इतिहासमा गम्भीर घटना हो। यसलाई लिएर पार्टी गम्भीर भएको छ', उनले भने, 'हामीले अनिवार्य उपस्थिति र अनिवार्य मतदानको निर्देशन दिएका थियौँ। विश्वकै संसदीय इतिहासमा ह्वीप उलंघन गरेर संसदमा नआउने, आएर पनि विपक्षमा मतदान गर्ने र तटस्थ बस्ने कुरा गम्भीर राजनीतिक घटना भएकाले हामी कारबाही गर्छौँ।'
भट्टराईले कारबाहीको व्यहोरा खुलाएनन्। एमालेले आज अनुपस्थित हुने समानुपातिक सांसदहरुलाई दलको कानुन बमोजिम पदमुक्त गर्न सक्नेछ। दलका नेता ओलीले गत चैत ७ गतेको बैठकबाट समानुपातिक सांसद राख्ने र हटाउने अधिकार आफूमा लिइसकेका छन्। यस्तोमा ओलीले अनुपस्थित भएका समानुपातिकलाई हटाएर बन्दसूचीका उम्मेदवारलाई जिताउन सक्नेछन्।
एमाले प्रमुख सचेतक भट्टराईका अनुसार समानुपातिक सांसदहरु रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरू बैठकमा उपस्थित भएनन्। अब उनीहरुलाई ह्वीप उल्लंघन गरेपछि पदमुक्त गर्ने तयारी एमालेले गरेको छ।
एमालेले प्रत्यक्ष निर्वाचित सांसदहरुमाथिको कारबाहीबारे केही निर्णय लिइसकेको छैन। आजै बसेको ओली र नेपाल पक्षका नेताहरुको बैठकले अझै पनि मिल्न सक्ने उपायको खोजी गर्ने सहमति जुटाएको थियो। एमाले दलका उपनेता सुवास नेम्बाङले पनि ह्वीप नमान्नेमाथि पार्टीले कारबाही गर्ने बताए तर उनले कारबाही कस्तो हुन्छ भन्ने खुलाएका छैनन्।
-फरकधार बाट










