सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढीमा रहेको मालिका अक्सिजन ग्यास उद्योगको प्लान्ट बिग्रिएको छ।

प्रदेशमा कोरोनाका बिरामीहरुले अक्सिजन अभावमा अकालमै ज्यान गुमाइरहेका बेला उक्त उद्योगको मेसिन बिग्रिएपछि अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको छ। सोमबार राति उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको र आपूर्तिमा समस्या भएको उद्योगले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त ग्यास उद्योगको दैनिक एकसय ५० देखि एकसय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको छ। उद्योगको अक्सिजन प्लान्ट बिग्रिदा अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनले भने,‘यहाँका अस्पतालहरुमा अक्सिजन अभाव भइरहेका बेला मालिका ग्यास उद्योगले केही हदसम्म भएपनि धानेको थियो।

तर सोमबार राति मेसिन बिग्रिएपछि उत्पादन रोकिएको जानकारी सञ्चालकले गराएका छन्। अब थप समस्या उत्पन्न भयो। प्लान्ट मर्मतका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने भएकाले पहल थालेका छौँ।’ जोशीका अनुसार अहिले नेपालगञ्जबाट थप अक्सिजन सिलिन्डर ल्याउने प्रयास भइरहेको छ।

मालिका ग्यास उद्योगले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अहिले दैनिक ३० देखि ४० सिलिन्डर अक्सिजन उपलब्ध गराइरहेको थियो। मालिकाले उपलब्ध गराउने कम्तीमा ४० सिलिन्डर, सेतीकै अक्सिजन प्लान्टबाट ६० सिलिन्डर गरेर दैनिक एकसय सिलिन्डरको जोहो धनगढीमै गरिरहको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनले भने,‘हामीलाई कोरोना संक्रमितका लागि अहिले दैनिक डेढ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ। मालिकाबाट ४० र हाम्रो ६० गरेर सय सिलिन्डर सम्म व्यवस्थापन भइरहेको थियो। बाँकी नेपालगञ्जबाट ल्याएर जसोतसो काम चलाइरहेका थियौँ। अब मालिकाको प्लान्ट बिग्रिएका कारण समस्या हुने भयो।’

-फरकधार बाट