आज बैशाख शुक्ल पक्षको तृतीया तिथी हो । आजको दिनलाई हिन्दू धर्मशास्त्रमा अक्षय तृतीयाको रुपमा उल्लेख गरिएको छ । अक्षय अर्थात् कहिले पनि क्षय नहुने वा नाश नहुने । धर्म शास्त्रहरुमा आजको दिनको बारेमा भनिएको छ :

यत्किञ्चिद् दीयते दानं स्वल्पं वा यदी वा बहु ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तत्सर्वं अक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।।

अर्थात् आजको दिन गरेको जप, दान, वा पुण्य कर्म धेरै होस् वा थोरै होस्, त्यो सबै अक्षय अर्थात कहिले पनि नाश नहुने हुन्छ । त्यसकारण आजको दिन पुण्यका कामहरु गर्नुपर्छ भनेर शास्त्रमा लेखिएको छ । त्यसैले अक्षय तृतीयाको दिन धर्म घडा पनि दान गर्नु भनिएको छ :

एष धर्मघटो दत्तो ब्रह्म विष्णुशिवात्मकः । अस्य प्रदानात्तृप्यन्तु पितरोऽपि पितामहाः ।। गन्धोदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् । पितृभ्यः संप्रदास्यामि ह्यक्षय्यमुपतिष्ठतु ।

आजको दिन नै अक्षय तृतीया मनाउनु पर्ने आधारहरु निकै छन् । हिन्दू धर्मशास्त्रहरुमा त अक्षय तृतीयाको बारेमा निकै महत्वको वर्णनहरु गरिएका छन् । भविष्य पुराणमा भनिएको छ कि आजको दिन नै सत्य युग र त्रेता युगको शुरुवात भएको हो ।

चार प्रकारका युग हुन्छन् भनेर ग्रन्थहरुमा लेखिएको छ – सत्ययुग, त्रेता युग, द्वापर युग र कलि युग । यी चार युगहरुमध्ये सत्य युग र त्रेता युगको आरम्भ आजको दिनदेखि नै भएको हो भन्ने प्रमाण पाइन्छ ।

आजको दिनको अरु पनि निकै महिमाहरु रहेका छन् । हिन्दू धर्मग्रन्थहरुमा भगवान् विष्णुका विशेष रुपमा २४ वटा अवतारहरु भएका कुराहरु उल्लेख छन् । ती सबै भगवानका अवतारहरु फरकफरक समयमा भएका छन् । तीमध्ये भगवान् नारायणको परशुराम, नरनारायण तथा हयग्रीव अवतार आज नै भएको हो भन्ने प्रमाणहरु रहेका छन् । त्यसकारण आजको तृतीया भगवान् विष्णुको प्रिय तृतीया हो भन्ने बुझिन्छ । विष्णुले मात्र नभइ भगवान् शिवले पनि आजको दिनलाई निकै प्रिय मान्नुभएको छ । त्यसैकारण भगवान् शिवले पार्वतीसँग विवाह पनि आजैका दिन गर्नुभएको थियो ।

भारतमा बद्रीनारायण भगवान्को दर्शन तथा पूजा गर्नको लागि आजदेखि सबैलाई खुल्ला गरिन्छ । अर्थात् बद्रीनारायणमा आजदेखि नै ढोका खुल्छ । बृन्दावनमा बाँके बिहारीजीको दर्शन सधैं गर्न पाइने भए पनि उहाँको चरणको दर्शन भने आज मात्र गराइन्छ । यस्ता उदाहरणहरु धेरै पाइन्छन् ।

आजको दिन विशेष रुपमा जौको सातु तथा सर्वत सत्पात्रलाई दान गर्नु भनिएको छ । त्यसकारण आजको दिन जौको सातु र सर्वत बाँड्नु राम्रो मानिन्छ । आजको दिन जौको सातु र सर्वत मन्दिरका आसपासमा वा भीडभाडमा बाँड्ने गरिन्छ । यसरी बाँड्नाले यमराजको भय हुँदैन भन्ने पनि मान्यता रहेको छ । तर यसवर्ष कोरोनाको कारण यसरी सर्बत बाँड्नु चाहिँ हुँदैन ।