काठमाडौं, असार १३ । दोस्रो चरण स्थानीय निर्वाचनमा मौसम बाधक बन्‍ने देखिएको छ। बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको हो। प्रदेश नम्बर १, ५ र ७ प्रदेशभर नै बुधबार वर्षा हुने सम्भावना रहेकाले सुरक्षित रुपमा छाता, घुम, प्लास्टिक र वर्षादी बोकेर मतदान गर्न जान मौसमविदले सुझाव दिएका छन्।

उनीहरूले मतदान अधिकृत र कर्मचारीलाई समेत मतदान सामग्री नभिज्ने गरी सुरक्षित व्यवस्था गर्न सुझाएका छन्। जल तथा मौसम विज्ञान विभाग एयरपोर्ट स्टेसनका मौसमविद समिर श्रेष्ठले एक नम्बर प्रदेशमा बुधबार बिहानैदेखि मनसुन बदली हुने र लगातार ५ घन्टासम्म पानी पर्ने देखिएको बताउनुभयो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्वी र मध्यभागमा दिनभरजसो मनसुन सक्रिय हुने विभागको पूर्वानुमान छ। प्रदेश ५ र ७ मा पनि मौसम बदली हुने र सिमसिम वर्षा हुने विभागले जनायो। जेठ २९ गते नेपाल भित्रिएको मनसुन केही दिनसम्म सक्रिय हुन नसके पनि तीन दिनदेखि पश्चिम नेपालसम्म फैलिइसकेको मौसमविद श्रेष्ठले जानकारी दिनुभयो। चुनावको दिन पूर्वी नेपालमा बिहान र दिउँसो तथा पश्चिम नेपालमा अपराह्न र साँझ वर्षा हुने विभागले जनाएको छ। पश्चिमी क्षेत्रमा भने सिमसिम वर्षा भए पनि लामो समय नरहने विभागको अनुमान छ।