काठमाडौं, ८ जेठ । प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसद विघटनलगायतका राजनीतिक घटनाक्रमका विषयमा साझा धारणा बनाउन विपक्षी गठबन्धनको बैठक शुरु भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनमा शुरु भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई लगायत नेताहरु सहभागी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि बिहान कांग्रेस सभापति देउवाको निवासमा बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले विपक्षी गठबन्धनका तर्फबाट संयुक्त रुपमा कानुनी र राजनीतिक प्रतिरोध गर्ने निर्णय गरिसकेको छ । गठबन्धनको संयुक्त बैठकमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदहरु नै सर्वोच्च अदालतमा रिट लिएर जाने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानबमोजिम संविधानको धारो ७६ ९५० बमोजिमको प्रधानमन्त्रीका लागि शुक्रबार प्रधानमन्त्री केपी ओली र विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाको दाबी परेपनि त्यसलाई खारेज गर्दै मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गएराति संसद् विघटन गरेकी छिन् । संसद् विघटनसँगै २६ कात्तिकमा पहिलो र ३ मंसिरमा दोस्रो चरणको मध्यावधि निर्वाचनको मिति तोकिएको छ ।

कांग्रेस सांसद गगन थापाले १४९ सांसदको संविधानको धारा ७६ (५) बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध अदालत जाने बताए ।

‘१४९ सांसदको संविधानको धारा ७६(५) बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौँ भने फागुन ११ को सर्वोच्च अदालतको फैसलाको अपमान हुन्छ,’ थापाले भनेका छन्, ‘राजनीतिक लडाईसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानुनी लडाई लड्न तयार रहनुपर्छ ।’