नेपाल टेलिकमले कोरोना महामारीमा खटिने तथा फ्रन्टलाइनमा बसेर सेवा दिने स्वास्थ्यकर्मीहरुलाई निःशुल्क भ्वाइस सेवा उपलब्ध गराउने भएको छ।

टेलिकमले बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका यस्तो सेवा उपलब्ध गराउन लागेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निःशुल्क भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद/नेपाल नर्सिंंग परिषद/नेपाल फर्मासिष्ट परिषद/नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच आइतबार हस्ताक्षर भएको छ।

यस अफर अन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेका आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड/प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइनेछ।

स्वास्थ्यकर्मीहरुले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गर्न पाइने नेपाल टेलिकमले जनाएको छ। पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागु हुने रेन्टल चार्ज कायमै रहनेछ।

स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषदहरु (नेपाल चिकित्सक परिषद, नेपाल नर्सिंंग परिषद, नेपाल फर्मासिष्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषद) ले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराए पश्चात यो अफर उपलब्ध गराइनेछ।

स्वास्थ्यकर्मीहरुको आफ्नै नाममा रहेको सिम कार्डमा मात्र उल्लिखित अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले नयाँ सिमकार्ड लिनका लागि सम्बन्धित परिषदको आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनु पर्ने बताइएको छ।

स्वास्थ्यकर्मीको सम्बन्धित परिषदको परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने छ।