कलाकार सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । जननेता मदन भण्डारीको ६६ औं जन्मजयन्तीको आवसरमा बुधवार राजधानीमा आयोजित कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
मदन भण्डारी फाउडेशनले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रमका बीच उनीहरुलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार राशी र सम्मानपत्र प्रदान गरेका थिए । 
भूकम्प पीडित र तराईका अति विपन्न मुसहरका लागि एकीकृत नमुना वस्ती बसाल्न योगदान गरेवापत उनीहरुलाई सम्मान गरिएको हो ।
पुरस्कार ग्रहण गर्दै कलाकार सीताराम कट्टेल धुर्मुसले जननेता मदन भण्डारीको नामको पुरस्कार पाउँदा आफू भावुक बनेको वताए ।
उनले दुःखी असहायका लागि र राष्ट्रका लागि काम गर्न कुनै पेशाले नछेक्ने वताए । ‘जननेता मदन भण्डारीको नाम जोडिएको सम्मान पाउनु हाम्रा लागि गौरवको विषय हो’ उनले भने, ‘यसले मलाई भावुक बनाएको छ र अझ राम्रो काम गर्न प्रेरणा मिलेको छ ।’
उनले नेपालमा छिटो विकासका लागि पहिले एकीकृत वस्ती बसाल्नु पर्ने वताए । ‘यहाँ छिटो विकास गर्न पहिले यहाँका वस्तीहरुलाई एकीकृत गर्नु पर्छ ।
एउटा घर माथि डाँडामा अर्काे घर तल मैदानमा राखेर सबै ठाउँमा समान विकास पुर्याउन अप्ठ्यारो हुन्छ’ उनले भने, ‘विकास गर्ने ईच्छाशक्ति भएका सरकार बने भने त्यस्तो सरकारले यसरी नै काम गरोस् भन्ने लाग्छ ।’



