विमसु । नियममा चल्दैन रहेछ जिन्दगीको रथ । राजधानीको मीनभवनस्थित कमर्स क्याम्पसबाट बिकिएस उत्तीर्ण गर्दासम्म लाग्थ्यो, कुनै बैंक तथा वित्तीय संस्थामा जागिर खान्छु वा नभए पिताकै मार्गमा लाग्छु ।
हाय ! कहाँ हिँडेको थिएँ आज कहाँ आइपुगेँ । कर्मले घिसार्दै घिसार्दै रेडियाको जागिरे बनायो । बुबा महालेखा परिक्षक कार्यालयको फष्र्ट क्लास अफिसर । साविक महालक्ष्मी नगरपालिका ललितपुर–७ को टीकाथलीमा जन्म । काठमाडौंको रैथाने । नपुग्दो केही थिएन ।
एसएसली महेन्द्र शान्ति विद्यालय बालकोटबाट उत्तीर्ण गरे । कलेज पढ्दै थिएँ । साथी भाईले चुरोट तानेको देख्दा स्मार्ट देखिने रहर जाग्यो । लहैलहैमा चुरोट तान्न सिकियो । भन्छन्, जहाँ इच्छा त्यहाँ उपाय जहाँ समस्या त्यहाँ समाधान ।
चुरोट पिउन पैसा जसरी पनि जुट्थ्यो । बुबाको अगाडि लुकेर खाएँ । १७ वर्ष हुँदा आमा बितिसक्नुभएको थियो । घरमा बाउछोरा मात्रै थियौं । एक्लो महसुस हुन्थ्यो । सायद आमा साथमा भइदिनुभएको भए म कुबाटोमा लाग्दिनथे होला ।
रहरै रहरमा रेडियोमा बोल्न थाले । हिट्स, क्लासिक एफएममा स्थापनाकालदेखि नै प्राविधिकको रुपमा काम गरे । त्यतिबेला सगरमाथा रेडियो भर्खर खुलेको थियो । त्यहाँ पनि तीन महिना रिपोर्टर भएर काम गरे । पछि पर्यावरण चक्र रेडियोका सञ्चालक अष्टमान महर्जनको सम्पर्कमा पुगे ।
उनीसँग संयोगले भेट भएको थियो सिडिओ कार्यालय ललितपुरमा । प्रसारण अनुमति लिन आएका रहेछन् । सिडिओसँग रेडियो कार्यक्रमबारे कुरा गरेको सुनेपछि काम गर्न इच्छुक रहेको बताए । आउनुस् सबै मिलेर गर्ने हो भने । अफिसमा जाँदा त्यस्तो केही थिएन । शुरुदेखि नै खटेर लागे । ९ वर्षसम्म काम गरे । तर, राम्रोसँग पैसा पाइनँ । दाम नपाए पनि नामका लागि बोलिन्थ्यो । रेडियोमा बोल्न थालेपछि संगत फेरिँदै गयो ।
बुबा श्यामबहादुर बस्नेत रिटायर्ड भइसक्नुभएको थियो । साथीकोमा जान्छु भनेर लाजिम्पाट जानुभएको बुबा पनि सडक दुर्घटनामा परेर बित्नुभएछ । खोजी गर्दै जाँदा लास शिक्षण अस्पतालको बेवारिस चाङमा फेला परे । १७ वर्षको हुँदा आमाले छाडेर जानुभयो, सडक दुर्घृटनामा परेर बुबा पनि बित्नुभएपछि एक्लो भएँ । पीडा र एक्लोपनालाई भुलाउने साथी बन्न थाल्यो रक्सी । बीचमा जावलाखेलमा टिकट काउन्टर चलाउँथे ।
एक दिन कान्तिपुरमा विज्ञापन देखे कन्सल्टेन्सीको । त्यही नम्ब्रमा डायल गर्दा झुक्किएर अन्यत्रै पर्यो । फोन उठाउने युवती थिइन् कमला थापा । मान्छेको जन्म, मृत्यु र विवाह भावीले नै किटान गरिदिएको हुन्छ । यही एक कलबाट शुरु भएको हाम्रो यात्रा तीन वर्षको प्रेम सम्बन्ध पछि विवाहमा बदलियो । मेरै सल्लाह सुझावअनुसार उनले ओम नर्सिङ इन्स्टिच्युटमा पढिन् । त्यहाँ उनी पहिलो ब्याच ।
शुरुका केही वर्ष राम्रैसँग बिते । रेडियो र रक्सी मेरा लागि पर्यायवाची भइसकेका थिए । कुलतमा डुबिसकेको थिएँ । श्रीमतीको लाख प्रयासका बाबजुद केही सीप लागेन । मैले रक्सी छाड्न सकिनँ, श्रीमतीले मलाई छाडेर गइन् । काखे बच्च च्यापी माइती गएर बस्न थालिन् । मेरा पीडामा नुनचुक छर्कन यही घटना काफी भयो । दिनरात श्रीमती र छोरीलाई सम्झेर दुःखी, पीडित बन्न थाले ।
दुःख भुलाउने सहारा नै रक्सी बन्यो । दिनरात रक्सी पिएपछि आफन्तबाट तिरस्कृत भएँ । मेरो धिपधिप निभ्न लागेको जीवनमा तेल हाल्न आइपुग्यो मामाको छोरा नवीन खड्का । उसैको सहारामा पुगे, विष्णु शर्मा सञ्चालक रहेको रिचमण्ड फेलोसिप रिह्याव सेन्टरमा । म आफैं पनि पुरानो जीवन छाड्न चाहिरहेको थिएँ । सबै खर्च मामाको छोराले नै व्यहोर्यो र उसकै साथ र मायाबाट नयाँ जीवन पाएँ ।
झण्डै तीन महिना रिचमण्डमा बसेपछि नयाँ जीवन पाएँ । पुराना तिरस्कारहरुलाई बिर्सिएर केही गरर बाँच्ने प्रण गरे । शिक्षण अस्पतालको बेवारिस गृहमा राखिएको बुबाको शवको सदगद गर्न नसकेकोमा मन पोलिरहेको थियो । एक न एक दिन सद्गद् गर्छु भन्ने सोच बनाएँ । यही सोचले एक्सन फर सोसल चेञ्च नामक संस्था दर्ता गरे । लालबहादुर महर्जन संस्थाका संरक्षक ।
यो बीचमा ५० भन्दा बढी बेवारिसे लासको एक्लै र केही संस्थाको प्रयासबाट सद्गद् गरे । पाटन अस्तपालमा रहेका ४४ र त्रिवि शिक्षण अस्पतालका सात लास पोले । एउटा लास सद्गद् गदौ झण्डै १० हजार रुपैयाँ खर्च हुन्छ ।
त्यो रकम केही साथीभाईसँग ऋण सापटी गरेर जुटाउँछु, केही आफ्नो आर्जनबाट आएको रकमबाट जुट्छ । एक पटक पैसा जुटाउन नसक्दा आफूले चढिरहेको मोटरसाइकल नै फाइनान्समा धरौटी राखेर सद्गद् गरेको छु् । पाटन अस्पतालमा भने अहिले बेवारिसे लास छैनन् । त्यहाँका गोपाल देउला, प्रदीप महर्जन, सुरेन्द्र अवालेहरुको सहयोगलाई कहिल्यै बिर्सिन सक्दिनँ ।
अहिले सबैभन्दा बढी बेवारिस लाख त्रिवि शिक्षण अस्पतालमा छ । १२७ वटामध्ये गत वर्षको भूकम्पका क्रममा बितेका १७ लाख वेवारिस छन् । ती लास सदगद गर्न त्रिवि शिक्ष्ण शाखा पोस्टमार्टम शाखाप्रमुख डा.हरिहर बस्तीसँग पटक पटक आग्रह गरे । तर उहाँ यस्ता लासको पोस्टमार्टम राज्यले गर्ने काम हो । हामी व्यवस्था मिलाउँछौं, भन्दै आइरहनुभएको छ ।
लास सदगद गर्ने क्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.गोविन्द टण्डनलाई पटक पटक अनुनय गरे । मिलाउँछु मिलाउँछु, भन्दा भन्दै उहाँको कार्यकाल नै सकिने समय आइसक्यो । खै उहाँले किन नसक्नुभएको हो ? बरु उहाँकै नाम भजाएर मानव सेवा नामक आश्रमले विभिन्न शिर्षकमा पाटन अस्पतालबाट तीन लाख रुपैयाँ लगेर हजम पारेको छ ।
पाएसम्मका अवसर, सुविधा लिने तर जिम्मेवारीबाट पन्छने धेरै संस्था देखेको छु । ललितपुरको लामाटारमा पुनर्जीवन केन्द्र स्थापना गरिएको छ । आफ्नो घर जग्गा बेचेर भए पनि केन्द्र खोज्ने इच्छा थियो । तर, आफ्नै रगतको नाता रहेको भाइको कारण पूरा हुन सकेन । उसले जग्गा बेच् दिएन ।
चिनेजानेका साथीभाइसँग रोइकराइ गरे । कहीँ कतैबाट पार लागेन । पहिलो अल्कोहलिक भएको कारण आफैंले पनि मुख खोलेर माग्न सकिनँ । केही त अझै पनि मप्रति विश्वास गर्दैनन् । तर, म हिँड्ने बाटो धेरै बदलिइसकेको छ ।
यस्तै भेटिए भावनाको नाता भएका विजयकुमार पाण्डे । उनकै सहयोग र सद्भावबाट २ रोपनी जग्गामा बनेको घर ५ वर्षका लागि एग्रिमेन्ट गरिएको छ । मासिक ५० हजार भाडा तिर्ने गरी । सो आश्रममा अहिले १८ जना अल्कोहलिकले आश्रम लिइरहेका छन् । हो, हिजो म आफैं बेसहारा थिएँ ।
आज सडकमा छाडिएका, सडकमा आउन बाध्य पारिएका, उपचार नपाएकाहरुको सहारा बन्ने प्रयास गरिहेको छु । अनि वर्षौसम्म आफन्त नभएकै कारण अस्पतालको शव गृहमा अलपत्र परेका शवको आत्मालाई शान्ति र मुक्ति दिने अभियानमा लागेको छु । यसो गर्दा मलाई शान्ति मिल्छ । यही शान्तिको खोजीम बेवारिसहरुको साथी बन्ने प्रयास गरिरहेछु । कोही नभएकाहरुको आफन्त बन्ने प्रयास गरिहेछु । विनयजंग बस्नेतको कथा जनआस्थामा उल्लेख छ ।न्यूज अभियान बाट



