राजनीति

ओलीसँग एमालेका १५ स्थायी कमिटी सदस्यको माग : उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे स्पष्ट गर


  काठमाडौ   सवाल नेपाल   २०७८ जेष्ठ २२, २०:५४

काठमाडौ, २२ जेठ : नेकपा (एमाले) का १५ स्थायी कमिटी सदस्यहरुले उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यत्ति बारे स्पष्ट पार्न माग गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १५ स्थायी कमिटी सदस्यहरुले आफ्नो मन्त्रीपरिषद्का उप्रधानमन्त्रीको अभिव्यक्ति बारेमा जवाफ दिन माग गरेका हुन् ।

शनिबार भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटी बैठकपछि १५ स्थायी कमिटी सदस्यहरुद्धारा जारी सामूहिक विज्ञप्तिमा महतोको अभिव्यक्ति सबिधानको धारा–३ विपरित रहेको भन्दै यस बारेमा प्रधानमन्त्रीले स्पष्ट पार्नु पर्ने उल्लेख छ । शुक्रबार उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गर्ने क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गरीरहेको बताएका थिए ।

यस बारेमा झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालले ओलीसँग जवाफ मागेका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानसाथ विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ’विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन । उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।’

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु