काठमाण्डौ – तपाईँ विदेश यात्रा गर्दै हुनुहुन्छ ? अहिले यात्रा गर्न अत्यावश्यक मध्येको एक हो पीसीआर नेगेटिभ रिपोर्ट ।
बिना पीसीआर नेगेटिभ रिपोर्ट नेपालबाट पनि यात्रा गर्न पाइँदैन भने गन्तव्य देशहरूले पनि यो कोरोना महामारीको समयमा पीसीआर रिपोर्ट अनिवार्य गरेका छन् ।
रोजगारीका लागि या अन्य विभिन्न उद्देश्यले विदेश हिँडेका कतिपय यात्रु पीसीआर रिपोर्टकै कारण विमानस्थलबाट फर्कनु परेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुका लागि पीसीआर परीक्षण गर्ने प्रयोगशाला तोकेको छ ।
विदेश जाने यात्रुका लागि मन्त्रालयले सबै सरकारी प्रयोगशाला, न्यूनतम १०० बेड भएका निजी अस्पताल र ए वर्गका प्रयोगशालाहरूमा पीसीआर परीक्षण गर्न सकिने जनाएको छ ।
सात वटै प्रदेशमा निजी अस्पताल र ल्याब गरी ३० वटा र सरकारी अस्पताल र ल्याब गरी ५१ वटा तोकिएको छ ।



