
संसारबाट विलुप्त हुनुभन्दा केही पहिले घुम्ने डाइनोसरहरूको पैतालाको छाप बेलायतमा भेटिएपछि वैज्ञानिकहरू खुशी भएका छन् ।
केन्टको फोकस्टोनमा ६ प्रजातिका डाइनासोरको पाइला भेटिएको हो ।
जीवाश्मशेषविद्हरूका अनुसार, यी डाइनासोरहरू ११ करोड वर्ष पुराना हुन् ।
हेस्टिंग्स म्युजियम यान्ड आर्ट ग्यालरी र पोर्ट्समाउथ विश्वविद्यालयका अनुसन्धाताहरूले मिलेर यसको अध्ययन गरेका हुन् ।
केन्टमा तुफानी मौसमका कारण पत्थरहरूमा चर्को हावा चलेर पत्थरहरूमा समुद्रको लहरले ठक्कर दिने गर्छ । काई जमेका पत्थरहरूमा जीवाश्मशेषहरू निस्कन थालेका हुन् ।
पोर्ट्समाउथ विश्वविद्यालयमा पेलियोबायोलोजीका प्राध्यापक डेभिड मार्टिलले पहिलोपटक फोकस्टोनमा डाइनोसरको पाउको निशान भेटिएको बताए । यो निकै महत्त्वपूर्ण खोज भएको उनको दाबी छ ।
त्यहाँको माटो नरम हुँदा डाइनासोरको पैतालाको निशान बनेको हो । पछि त्यो माटो दह्रो भए पत्थर बन्यो । तर पत्थरमा पनि निशान स्थायी बनेर बस्यो ।
पत्थरहरूमा फरक फरक प्रजातिका डाइनासोरको पाइला भेटिएको छ । अर्थात् ११ करोड वर्षपहिले क्रेटासियस कालमा दक्षिण बेलायत उनीहरूको गढ थियो ।
पाइला हेर्दा त्यतिखेर एंकिलोसरस घुम्ने गरेका पाइयो । तिनीहरू विशालकाय हुन्थे ।