झापा । झापा बिर्तामोडका व्यवसायीले ब्याज र किस्ताका लागि ताकेता नगर्न यहाँका बैंकलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारण व्यापार–व्यवसाय चौपट भएको भन्दै व्यवसायीले बैंकलाई ब्याज र किस्ताका लागि ताकेता नगरी लचकता अपनाउन आग्रह गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको बैंकर्स क्लब बिर्तामोडसँगको छलफलमा संघका अध्यक्ष प्रकाश शिवाकोटीले लामो समयदेखिको निषेधाज्ञाका कारण उद्योगी–व्यवसायी मारमा परेको बताए । “महामारीका बेला व्यवसायी मारमा परेका छन्”, उनले भने, “उनको समस्या बुझिदिनु पर्छ ।”

अर्का व्यवसायी जीवनकुमार खड्काले निषेधाज्ञा अवधिमा व्यापार–व्यवसाय ठप्प भएका व्यवसायीलाई पहिचान गरी ब्याज ताकेता नगरिदिन र सकेसम्म लचक हुन आग्रह गरे । छलफलमा सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुवास श्रेष्ठले हाल कारोबार भएका तथा सञ्चालनमा रहेका उद्योगी–व्यवसायीलाई मात्र ब्याजका लागि ताकेता गरिएको बताए । “व्यापार बन्द भएका व्यवसायीलाई ताकेता गरिएको छैन”, उनले भने, “जुन व्यवसाय चलेको छ, त्यहीअनुसार काम गरिरहेका छौँ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छलफलमा एनआइसी एशिया बैंकका दशरथ पराजुली, सानिमा बैंकका अम्बिका खतिवडा, गुडविल फाइनान्सका सुमन पौडेल, मुक्तिनाथ विकास बैंकका हरि ओझालगायतका बैंक प्रतिनिधिले व्यापार र कारोबार नभएका व्यवसायीलाई ब्याज र किस्ताका लागि दबाब नदिइएको बताए ।