काठमाण्डाै – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा आठ वटा समूहका टोली नेताले आ–आफ्नो समूहगत रिपोर्ट पेस गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन आठ वटा समूह बनाएर हिजो शनिवारदेखि छलफल गरिएको थियो ।

समूहमा पार्टीको अन्तरिम विधान र संशोधन प्रस्तावमाथि पनि छलफल भएको छ । सात वटा प्रदेशका टोली नेता र एउटा सङ्गठन विशेष गरी आठ वटा समूहका नेताहरूले समूहगत रिपोर्ट पेस गरिसकेका छन् । अब स्थायी कमिटीको बैठक बस्ने र समूहगत रिपोर्टको जवाफका विषयमा छलफल भएपछि केही बेरमा फेरि केन्द्रीय कमिटीकाे बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थायी कमिटीको बैठकपछि अध्यक्ष प्रचण्डले सुझाव र जिज्ञासाको जवाफ दिएपछि सम्भवतः बैठक आजै सकिने पनि श्रेष्ठले जानकारी दिनुभयो ।

प्रचण्डको प्रतिवेदनमा आउँदो चुनावसम्म वाम–लोकतान्त्रिक एकता जोगाइराख्ने, गाउँ–गाउँसम्म पार्टीका कमिटी निर्माण गर्ने, आउँदो पुसमा राष्ट्रिय सम्मेलन गर्ने, पार्टीमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने, युवालाई विशेष जोड दिने, सीमा क्षेत्रका समस्या कुटनीतिक वार्तामार्फत समाधान गर्ने लगायतका विषय समेटिएका छन् ।