विराटनगर, मदिरा सेवन गरी कोशी अस्पतालको गाइनो वार्डमा डाक्टर बनेर बिरामी परीक्षण गर्ने एक व्यक्ति पक्राउ परेका छन्। सोमबार राति १२ बजे विराटनगरस्थित कोशी अस्पतालको गाइनो वार्डमा बिरामीको स्वास्थ्य जाँच गर्ने विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियालाई प्रहरीले पक्राउ गरेको हो। बानियालाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरेर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

‘मदिरा सेवन गरेपछि डाक्टर बनेर अस्पतालमा बिरामीको स्वास्थ्य जाँच गरेको पाइएको छ,’ डिएपी श्रेष्ठले भने, ‘पक्राउ परेका बानियालाई म्याद थप गरि अनुसन्धान सुरू गरेका छौं।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्पताल प्रशासनले पनि पक्राउ परेका बानियालाई आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए। ‘मध्य राति अस्पताल आएर नक्कली डाक्टरको भेषमा अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको रहेछ,’ दासले भने, ‘आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएका छौं।’ विरामीको स्वास्थ्य परीक्षण गर्दा हातमा पन्जासमेत नलगाई उपचार गर्न खोजेपछि नक्कली डाक्टर भएको खुलेको अस्पतालले जनाएको छ।