नेकपा एमालेले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाइएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको छ ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।
पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्नेका साथै संगठनात्मक विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई आधिकारिकता दिएको थियो । माधव नेपाल नेतृत्वको समाजवादीलाई एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सघाएका छन् ।










