पहिरो खसेर अवरुद्ध भएको नागढुंगा – नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण आज बिहान साढे पाँच बजे नागढुंगा नजिकै चिसापानीमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको थियो ।
दुईवटा स्काभेटरको सहायताले अवरुद्ध सडक ६ घण्टापछि सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिनुभयो ।
सडक खुलेसँगै सवारी साधन गन्तव्यतर्फ लागिरहेका छन् । सो सडक पहिरोका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ।