
केही वर्षअघिसम्म झौवाई खोल्सीको रुपमा परिचित सिरहाको लहान नगरपालिका– १५ बानोस्थित जङ्गल क्षेत्रमा यतिबेला पुग्दा तालको झझल्को दिने गरी संरचना तयार गरिएको छ । करिब १५ बिघा क्षेत्रफलमा फैलिएको सो खोल्सीलाई संरक्षण गरी स्थानीय युवाको सक्रियतामा मर्मत गरिएको हो । ताल र तालकै बीचमा मन्दिर बनाइएको छ ।
तालमा डुङगा शयरको व्यवस्था गरिएको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्त खोल्सीलाई स्थानीय युवाले धार्मिक पर्यटकीयस्थल बनाउन सक्रियता बढाएपछि जङ्गल क्षेत्रमा अवस्थित सो क्षेत्र पर्यटकीयस्थलको रुपमा विकसित हुन थालेको हो ।
कोरोना कहर सकिएपछि पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा बानोका युवाले करिब १५ बिघा क्षेत्रफलमा फैलिएको सो खोल्सीलाई संरक्षण गरी धार्मिक पर्यटकीयस्थल बनाउन लागि परेका हुन् ।
स्थानीय गाउँलेद्वारा २०३३ सालदेखि संरक्षित सो खोल्सीलाई पर्यटकीयस्थल बनाउन गोसाइँडाँडा ताल नामाकरण गरिएको छ । संरक्षित वनभित्रबाट बग्दै आएको पानी झौवाई खोल्सीमा जमेपछि स्थानीयवासीले बाँध बनाएर पोखरीको रुप दिएर सिँचाइका लागि उपयोग गर्दै आएका थिए। लहान बजारबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको बानोमा थारु, मुसहरलगायतका जातजापतको १ सय १० घरधुरी छन् । सांसद प्रदीप गिरीको संसदीय कोषबाट रु १५ लाख, डिभिजन वन कार्यालय लहान सिरहाबाट रु १० लाख र भू–संरक्षण कार्यालयको रु ६ लाख ५० हजारको सहयोगमा स्थानीयले त्यही खोल्सीबाट र पोखरी र अब तालको रुपमा पुननिर्माण गरेका छन् ।
खोल्सीबाट बनाएको ताललाई स्थानीयवासीको सक्रियतामा बनेको चुरियाडाँडा सामुदायिक वन उपभोक्ता समिति बनाएर संरक्षण गरिएको छ । सो ताललाई पोखराको मिनी फेवातालको झल्को दिने गरी आवश्यक पूर्वाधार तयार गर्दै पर्यटकलाई आकर्षित गर्ने थप योजनाहरु बनाएको स्थानीय युवा श्रवण चौधरीले बताउनुभयो ।
तालकोबीच भागमा रहेको ढिस्कोमा पुग्न बोटिङको व्यवस्था गरिएको र चारैतिर चुरेक्षेत्रले घेरिएको ताल वरपर विभिन्न स्थानमा पर्यटकलाई आराम गर्न २० वटा विश्रामस्थल निर्माण गरिएको गोसाइँताल संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका स्थानीय युवा अभिनन्द चौधरीले जाकारी दिनुभयो ।
पर्यटकको धार्मिक आस्थालाई जोगाउन गोसाइँडाँडा तालको टुप्पोमा स्थापना गरिएको महादेव मन्दिरमा भक्तजन जल चढाउन आउने गरेको स्थानीयवासी बताउछन् । लहान नगरपालिका १५ ढोढनामै रहेको प्रसिद्ध राजदेवी मन्दिरमा पूजाआजा गर्न आउने श्रद्धालुलाई त्यहाँबाट करिब दुई किलोमिटरको दूरीमा रहेको सो तालको मनोरम दृश्य देखाउने योजना समेत बनाएको समितिका सदस्य आनन्द चौधरीले बताउनुभयो ।
आफ्नो गाउँबस्ती वरिपरिको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन सकिए विकासको अन्य सम्भावना खुल्ने भन्दै स्थानीय युवा सक्रिय रुपमा तालको आवश्यक संरचना बनाउन लागि परेको अर्का युवा महेन्द्र चौधरीले बताउनुभयो ।