राष्ट्रिय जनमोर्चा पार्टी “सुदूरपश्चिम” विभाजनको संघारमा पुगेको छ । पार्टीको केन्द्रीय तहले विधि विधान विपरीत कार्य गरेको भन्दै सुदूरपश्चिम प्रदेशका जनमोर्चाका कार्यकर्ताहरुले विद्रोह गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरूले केन्द्रले विधि विधान विपरीत काम गरेको भन्दै विद्रोहको घोषणा गरेका हुन् । धनगढीमा पत्रकार सम्मेलन गर्दै पार्टीको केन्द्रीय तहले निर्माण गरेको प्रदेश कमिटी भंग गरेर नयाँ कमिटी घोषणा गरिएको छ ।

पार्टीकेन्द्रले क्रान्तिकारी राजनीतिक कार्यदिशा स्वघोषित परिवर्तन गरी दक्षिणपन्थी संसदीय राजनीतिक कार्यदिशा अंगीकार गरेको भन्दै आफूहरुले केन्द्रले लादेको प्रदेश स्तरीय कमिटी भंग गर्दै नयाँ कमिटी चयन गरेको पार्टीका प्रदेश कोषाध्यक्ष केशव नाथ योगीले बताउनु भयो ।

उहाले दल विभाजन सम्बन्धी अध्यादेशलाई समर्थन गर्नु, जनचाहना र पार्टीको स्वीकृत राजनीतिक लाइन विपरीत गण्डकी प्रदेशमा पार्टीबाट निर्वाचित सांसदलाई निष्काशित गर्नु पनि पार्टीको गलत लाइन भएको बताउनु भयो । तत्कालिन सुदूरपश्चिम प्रदेश स्तरीय समितिलाई खारेज गर्दै समितिको बहुमत सहितको भेलाले समितिका तत्कालीन उपाध्यक्ष तथा केन्द्रीय सदस्य लोकेन्द्र लम्साललाई अध्यक्षमा चयन गरेको छ ।

यस्तै उपाध्यक्षमा तिलक परियार, सचिवमा लक्षीराम आचार्य, सहसचिव हुकुम साउँद, कोषाध्यक्ष केशवनाथ योगी लगायत २३ सदस्यीय समिति चयन भएको हो । गत चैतमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनको सांगठनिक नियमविपरीत प्रदेश कमिटीहरु केन्द्रद्वारा मनोनित गर्ने कार्यले सुदूरपश्चिम प्रदेशका इमान्दार कार्यकर्तालाई पार्टी प्रतिको क्षमता, योगदान र भूमिकाप्रति अवमूल्यन भएको भन्दै फुटको संघारमा पुगेको अध्यक्ष लोकेन्द्र लम्सालले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य लम्साल समूह र केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी समूहमा संगसंगठन बाँडिएका छन । जनमोर्चाको सुदूरपश्चिम प्रदेशमा रहेका ५ जना केन्द्रीय सदस्य मध्ये तीन जना केन्द्रीय सदस्य लम्साल समूहमा देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय