
नेपाल टेलिकमले मोबाइलमा जथाभावी एपहरु इन्स्टल नगर्न सचेत गराएको छ । टेलिकमका सिमकार्डमा विदेशी नम्बरबाट मिस्टकल आउने तथा अनावश्यक पैसा काटिने समस्या देखिएको भन्दै टेलिकमले यसबारे सचेत गराएको हो ।
‘विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने अवस्था यदाकदा देखिएको छ । साथै केही दिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको छ’, टेलिकमको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहकवर्गले आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउनु हुन अनुरोध गरिन्छ ।’
टेलिकमले अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।