
नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार बिदेशी शक्तिको इशारामा चलेको आरोप लगाएका छन् । शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा गरेको कार्यक्रममा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इशारामा काम गरेको आरोप लगाएका हुन् ।
उनले दार्चुलामा तुईन काटेर नेपाली बेपता भएको घटनादेखि लिपुलेक कालापानीका बिषयमा सरकार मौन बसेको पनि आरोप लगाए । ज्ञवालीले सरकारले एमाले टुक्राउनकै लागि अध्यादेश ल्याएको भन्दै एमालेलाई फुटाएको परिणाम आगामी निर्वाचनमा देखिने तर्क गरे ।
उनलले निर्वाचनमा जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने दावी गरे । आगामी भाद्र २२ गते अध्यादेश निष्कृय पारेर सरकार बिस्तार गर्ने योजना देखिएको भन्दै उनले गठबन्धनले लज्जास्पद काम गरेको बताए ।
उनले केहि एमालेका नेताहरु गलत बाटोमा गएको भन्दै एमालेमा फर्कन आह्वान गरेका छन् । उनले एमाले सरकारमा आएपछि फेरि देशलाई ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानका साथ अघि बढाउने जिकिर गरे ।