
विराटनगर : नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो पार्टी रोजे उनीहरुको नेतृत्वको सरकारले निरन्तरता पाउने दाबी गरेकी छन्।
सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेतृ झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य एकीकृत समाजवादीमा आवद्ध भए विश्वासको मत जुटाउन आफ्नो पार्टी लाग्ने बताइन्। उनले आचार्य र शाक्य एमालेमै रहे सरकार अल्पमतमा पर्ने बताइन्।
उनले भनिन्‚ ‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ। उहाँहरू आउनुभयो भने विश्वासको मत दिलाउन हामी आफैं खट्ने छौं‚’ उनले भनिन्‚ ‘एमालेमै बसेको अवस्थामा उहाँहरुले विश्वासको मत लिर्नुपर्ने हुन्छ। सरकार अल्पमतमा पर्छ।’
यस्तै‚ नेतृ झाँक्रीले एकीकृत समाजवादी कुनै पनि नेतालाई हेरेर निर्माण नगरिएको दाबी गरिन्। उनले हिजो आफूहरुको साथमा को को थिए भन्ने कुराले अहिले खासै अर्थ नराख्ने जिकिर गरिन्। ‘आन्दोलनको दौरानको ट्रेनमा को को चढ्नुभयो र को को झर्नु भयो भनेर निर्क्योल हुँदैन‚’ झाँक्रीले भनिन्‚ ‘उहाँहरुलाई हेरेर पार्टी बनाएको पनि होइन।’
झाँक्रीले एकीकृत समाजवादी सरकारमा सहभागी हुने विषयले सरकार विस्तारमा ढिलाई नभएको दाबी गरिन्। एकीकृत समाजवादी सरकारमा सहभागी हुनेबारे दलले सरकारमा जानेबारे औपचारिक निर्णय गर्न बाँकी रहेको भए पनि यही विषयले सरकार विस्तारमा ढिलाई भएको भन्ने कुरा अनुमान मात्रै भएको बताइन्।