डडेल्धुरा । परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसकेको छ। तर, उनको हत्यारा भने अझै पत्ता लागेको छैन । प्रहरीले सुक्ष्म अनुसन्धान भन्दै जिल्ला र प्रदेशको टोली खटाएर अनुसन्धानसमेत गरेको थियो । डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपाल आफैँ घटनास्थलमा खटिए । तर, पनि घटनाबारे सत्यतथ्य बाहिर ल्याउन सकेका छैनन् ।

अस्मिताको हत्या भएको भन्दै आन्दोलन भयो । आन्दोलन चर्किएर ठुलो क्षति हुने डरले परशुराम नगरपालिकाले संघर्ष समितिसँग ६ बुँदे सम्झौतासमेत गर्यो । जसमा पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने र अस्मिताका श्रीमान् अमर धामीलाई जमरानी स्वास्थ्य केन्द्रमा रोजगारी दिनेलगायतका छन् । तर, त्यो सम्झौता अझै पनि कार्यान्वयन भने भएको छैन ।

नगरपालिकाले सम्झौता कार्यान्वयन नगरेको र प्रहरीले घटनाबारे सत्यतथ्य बाहिर नल्याएको भन्दै दुई साता अगाडि संघर्ष समितिले आन्दोलनलाई तीव्रता दियो। र, जिल्ला सदरमुकाम केन्द्रित गर्ने योजना बनायो । तर, कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरण दोहोरिने डरले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २० भदौभित्र घटनाबारे जानकारी दिने भन्दै आन्दोलन नगर्न आग्रह गर्यो। त्यसपछि संघर्ष समितिले आन्दोलन मत्थर बनायो ।

प्रशासनले दिएको समयसीमा सकिन अब दुई दिन मात्रै बाँकी छ । विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको अस्मिताको भिसेरा रिपोर्टले घटनाबारे पूरै जानकारी नआउने प्रहरी स्रोत बताउँछ। अस्मिता मृत्यु प्रकरण डडेल्धुराका प्रहरी उपरीक्षक राजेन्द्र चन्दले हेरिरहेका छन् । अस्मिताको हत्या नै भए पनि उनको शवमा किरा परेको र भिसेरा परीक्षणबाट हत्याबारे एकिन जानकारी नपाइने उनको भनाइ छ।

यस्तो छ घटना विवरण
अस्मिता र अमरको २०७२ मा प्रेम विवाह भयो। खेतीकिसानीबाट उनीहरूको जीवन जेनतेन चलिरहेको थियो । अस्मिता घर सम्हालेर बसिरहेकी थिइन् अमर भने वैदेशिक रोजगारीका लागि विदेश जाने गर्थे । ०७४ मा अस्मिताले परशुराम नगरपालिका–८ कै जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा काम गर्न थालेपछि उनीहरूको जीवन फेरिँदै थियो । घर खर्च चलाउन सहज हुँदै गयो । विदेशमा कोरोनाको संक्रमण फैलिएपछि अमर स्वदेश फर्किएर गत वर्षदेखि घरमै थिए ।

अस्मिता कार्यालय जान्थिन् । अमर घरमा दुई छोरीको रेखदेख गर्थे । कोरोना महामारीको समयमा पनि अस्मिताले आफ्नो दायित्व पूरा गरिरहेकी थिइन् । अरू समयभन्दा कोरोना संक्रमण फैलिएपछि अस्मिताको जिम्मेवारी थपिएको थियो। कहिले कोरोना परीक्षण त कहिले कोरोना खोपका सामग्री ल्याउने लैजाने गर्दा उनलाई घर जान पनि समय हुँदैनथ्यो । कहिलेकाहीँ घर जाने फुर्सद नभएपछि उनी आफन्तकोमा बस्थिन् । र, दोस्रो दिन घर पुग्थिन् ।

मामाको घर निर्माण भइरहेकाले त्यसअघि अमर दुई दिन घर गएका थिएनन् । गत १ असारमा उनी घर गए । अवस्था सबै ठिक थियो । अस्मिताले त्यसदिन राति कोरोनाको खोप पुर्याउन जानुपर्ने अवस्थाबारे श्रीमान् अमरलाई जानकारी गराइनन्।

२ असारमा अमर श्रीमती अस्मिता कार्यालय जानुअघि घरबाट निस्के । छोरीलाई आमा–बुवासँग छाडेर अस्मिता पनि कार्यालय गइन् । अमर साँझ घर आए, तर अस्मिता भने आइपुगेकी थिइनन् । अमरले फोन गर्दा उनको मोबाइल ‘स्विच अफ’ भन्यो।

त्यसदिन उनले आज कतै बसिन् होला भन्ने ठाने । अमरलाई अस्मिताले दोस्रो दिन फोन गर्लिन् भन्ने आश थियो । तर, न त उनी घर आइन्, न त उनको फोन नै आयो । त्यसपछि अमरले कार्यालय प्रमुखलाई फोन गरे । कार्यालय प्रमुखले भने, ‘खोप लिन गएकी छन् । आज आफन्तकोमा बस्छु, भोलिमात्रै कार्यालय पुग्छु भनेकी थिइन्, आउँदै होलिन् ।’

कार्यालय प्रमुखको कुरा सुनेपछि उनलाई पनि श्रीमती आउँदै होलिन् भन्ने लाग्यो । र, उनी नियमित काममै लागे । तर, भोलिपल्ट पनि अस्मिताको फोन लागेन । न त उनी घर आइन् । त्यसपछि भने अमरलाई भय र चिन्ताले सताउन थाल्यो । छोरीहरू पनि आमा खोज्न थाले ।

छोरीलाई फकाउन उनले बिस्कुट र चाउचाउ किनिदिए । राति ८ बजेसम्म पनि अस्मिता नफर्केपछि उनले फेरि कार्यालय प्रमुखलाई फोन गरे, ‘म बुझेर खबर गर्छु’ उताबाट जबाफ आयो । अमरले आफन्त सबैलाई फोन गरेर सोधें। तर, कसैले पनि नदेखेको बताए ।

छोरीहरूलाई फकाउँदै सुताए । तर, उनी आफू भने रातभरि सुत्न सकेनन् । एकैछिनमा बुझेर खबर गर्छु भनेका कार्यालय प्रमुखले बिहानसम्म फोन गरेनन् । अस्मिता आउँछिन् भनेर पर्खेका उनको आशा मर्दै गयो । फेरि उनले बिहान जमरानी स्वास्थ्य केन्द्रमा फोन गरे । खोप पुर्याउनुपर्ने ठाउँमा पनि नपुगेको कार्यालयबाट थाहा पाए । अमरले अस्मिता हराएको कुरा जोगबुढा प्रहरीलाई जानकारी दिए ।

आफन्तहरूले खोजीकार्य सुरु गरे । ४ असारमा आफन्त र प्रहरीले खोजी तीव्र पारे । तर, कतै भेटेनन् । निराश हुँदै फेरि घर फर्किएका अमरलाई छोरीहरूलाई भुलाउन हम्मे–हम्मे भयो । त्यो रात पनि भोक र अनिद्रामै बिताएका उनी बिहानबाट फेरि अस्मिताको खोजीमा लागे । प्रहरी र स्थानीयको संयुक्त टोलीले ५ असारमा हट्टवानी सामुदायिक वनको एउटा खोल्सोमा अस्मिताको शव फेला पार्यो।

त्यसको दुई दिनपछि शवको पोस्टमार्टम गरियो । तर, हत्या र बलात्कारबारे एकिन जानकारी नपाएपछि भिसेरा परीक्षणका लागि काठमाडौँ पठाइयो । घटनास्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । त्यसबाट कुनै ठोस प्रमाण प्राप्त नभएको प्रहरीले जनाएको छ । प्रहरी उनको भिसेरा रिपोर्ट कुरिरहेको छ । जसको रिपोर्ट हालसम्म नपुगेको प्रहरीले जनाएको छ।

शव फेला परेको दिनदेखि निरन्तर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । तर, प्रहरीसँग ठोस परिणाम हात पर्न सकेको छैन । अनुसन्धानका क्रममा हात परेका प्रमाणले हत्यारा सार्वजनिक गर्न पर्याप्त नभएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय