काठमाडौँ, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी की उपाध्यक्ष फातिमा सुमारसहितको टोली प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ।
आज मात्रै काठमाडौँ आइपुगेको उक्त टोलीले सबैभन्दा पहिले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको हो । भेटवार्ता बालकोटमा जारी छ । बालकोटमा भएको वार्तामा सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् । उनी पनि आजै नेपाल आइपुगेका हुन् । सरकारमा रहँदा एमसीसी परियोजना संसद्बाट पास गर्नका लागि निकै जोडबल गरेका ओलीसँगको भेटपछि सुमारको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने बताइएको छ ।










