भोजपुर । भोजपुरमा २०७२ सालको भूकम्पबाट क्षति भएका ८४ दशमलव ९५ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका ६ हजार १९४ मध्ये हालसम्म पाँच हजार २६२ पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

पछिल्लो समय कार्यालयले स्थानीय तह स्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याका विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसँग पुनर्निर्माणसम्बन्धी गोष्ठी सञ्चालन गर्न थालेसँगै कामले तीव्रता पाएको कार्यालयको भनाइ छ । पहिचान भएका लाभग्राहीमध्ये हालसम्म ६ हजार १९४ पीडितले पहिलो किस्ता र पाँच हजार ४९३ जनाले दोस्रो किस्ता लिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै जिल्लाभर ५१६ प्रवलीकरणका लाभग्राही छन् । कार्यालय प्रमुख धर्मेन्द्रकुमार झाले भने, ‘हामी स्थानीय स्तरसम्म पुगेर त्यहाँका समस्याका विषयमा जानकारी लिँदै सरोकारवाला पक्षसँग छलफल समेत गरिरहेका छौं, यसले काम चाँडो सम्पन्न गर्न निकै मद्दत गरेको छ, जिल्लामा अहिले पुनर्निर्माणले निकै राम्रो गति लिएको छ ।’

सरकार परिवर्तन भएसँगै काममा भने केही अन्योलता देखिएको कार्यालयको भनाइ छ । अघिल्लो सरकारले यही कात्तिक मसान्तसम्म पूर्ण रूपमा निर्माण सम्पन्न गर्ने परिपत्र गरेको भए पनि अछिल्लो समय कुनै पनि परिपत्र नआएको कार्यालयले जनाएको छ ।