काठमाडौं, २६ भदौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले सत्तारुढ दलहरुको इशारामा नेकपा एमाले विभाजनमा भूमिका खेलेको निष्कर्ष निकालेको छ ।
आज (शनिबार) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
एमालेका प्रचार विभाग प्रमुख नेता योगेश भट्टराईले सभामुखको भूमिका निष्पक्ष नभएकाले बाध्य भएर एमालेले संसद् अवरोध गर्नुपरेको बताएका छन् ।
‘सभामुख संसद्मा सत्तापक्ष, प्रतिपक्ष र सभामुख , सभामुख हुन्छन् । सभामुख सत्तापक्षको पनि होइन, प्रतिपक्षको पनि होइन । संसद्को नेता हो,’ भट्टराईले भने, ‘उहाँले संसद्को नेताको रूपमा भन्दा सत्तापक्षको सदस्यको रूपमा ज्यादा भूमिका खेल्नुभयो । पदीय आचरणविपरीत नेकपा एमालेको विभाजनमा भूमिका खेल्नु भयो भन्ने हाम्रो टिप्पणी छ र यो आम टिप्पणी हो । त्यसमा उहाँले चित्त बुझ्दो जवाफ दिनु भएको छैन ।’
संसद्लाई सहज बनाउने काम सत्तापक्षको रहेको र सभामुखले यसमा सहजीकरणको भूमिका निभाउनु पर्ने भट्टराईले बताए । ‘संसद्लाई सहज बनाउने काम सत्तापक्षले गर्छ र त्यसको सहजीकरण सभामुखले गर्छ । अहिले सभामुखले अचम्म लाग्छ कि प्रमुख प्रतिपक्षी दल संसद्को सबैभन्दा ठुलो दल पनि हो । यो लोकतान्त्रिक अभ्यासमा पोख्त पार्टी हो एमाले, यस्तो पार्टीसँग संवादमा आउन चाहनु भएको छैन,’ भट्टराईले भने,‘सभामुखले त संवाद गर्नुपर्यो । हाम्रो दलका नेतासँग र पदाधिकारीसँग छलफल गर्नुप–यो । के गर्नुपर्ने भनेर सोध्नुप–यो कार्य व्यवस्था समितिको कुनै बैठक छैन, सिधै लगेर एजेन्डा हालेको छ । नियमावलीअनुसार संसद्मा कार्यव्यवस्थामार्फत एजेन्डा जाने हो नि सभामुखको भूमिका निष्पक्ष भएन ।’
एमाले स्थायी कमिटी बैठक ३ बजे फेरि बस्ने, विधान महाधिवेशनका प्रतिनिधि टुंगो लगाउने
नेकपा एमालेको स्थायी कमिटीको शनिबार विहान बसेको बैठकमा आगामी विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ ।
पार्टी प्रचार विभाग प्रमुख योगश भट्टराईका अनुसार विधान महाधिवेशनमा करिब ३ हजार जना प्रतिनिधि सहभागी गराउने विषयमा छलफल भएको छ । तर को को सहभागी हुने भन्ने विषय टुंगिएको छैन । त्यसका लागि शनिबार दिउँसो ३ बजे पुन बैठक बोलाइएको छ ।
उनका अनुसार विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी गराउने प्रस्ताव पार्टी संगठन विभागले राखेको छ ।
एमालेमा विगतमा विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु सहभागी हुन्थे । तर नवौं महाधिवेशन पछि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य चुनिएका छैनन् । त्यसैले अन्तरिम व्यवस्था गरेर विधान महाधिवेशनको प्रतिनिधि टुंगो लगाउन लागेको भट्टराईले बताए । त्यस्तै दिउँसो ३ बजे हुने बैठकमा विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक, संगठनिक र विधानसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमाथि पनि छलफल हुने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।










