ताप्लेजुङ्ग । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।

हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोभिडको जोखिम न्यून भए पनि पूर्णरुपमा नहटेकाले वर्तमान अवस्थामा पाथीभरा आउने तीर्थयात्रीहरुलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डलाई पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरिएको छ ।

“सङ्क्रमणको अवस्था सामान्य हुँदै गए पनि पूर्णरुपले हटिसकेको अवस्था छैन, त्यसैले मन्दिरको दर्शन एवम् पूजाआजाका लागि आउने भक्तजनलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरेका छौँ,” कार्यकारी निर्देशक काफ्लेले भन्नुभयो ।

ताप्लेजुङमा पछिल्लो समय सङ्क्रमणको दर न्यून हुँदै गएको छ । सङ्क्रमणको अवस्था सामान्य हुँदै गएपछि चार महिनादेखिको निषेधाज्ञासमेत हटाइएको छ ।