कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरमा चढाइएका घन्टी एक पसलमा भेटिएका छन्। धार्मिक आस्थासहित भक्तजनले मन्दिरमा चढाएका घन्टी भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरको ठकुराठी भाँडा वर्तन पसलमा भेटिएका हुन्।

शनिबार कञ्चनपुर प्रहरीले गल्ली नम्बर १ मा रहेको ठकुराठी भाँडा वर्तन पसलमा छापा मारेको थियो। उक्त पसलबाट सिद्धनाथ मन्दिरमा चढाइएका घन्टी बरामद भएको कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले जानकारी दिए। उनका अनुसार बरामद भएका घन्टीहरूको जम्मा तौल ६ सय ६१ किलोग्राम रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पसलबाट भेटिएका घन्टी कसैले चोरी गरेर उक्त भाँडा पसलमा बेचेको वा अन्य कुनै कारण छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। ‘मन्दिर समितिले बेचेको हो, वा कुनै गिरोहले चोरेर बेचेको हो, सोबारे अनुसन्धान भइरहेको छ,’ प्रवक्ता सिद्धराज न्यौपानेले भने।

मन्दिरमा चढाइएका घन्टी मर्मत गरी नयाँ बनाएर बेच्ने गरेको पाइएको भन्दै प्रहरीले छापा मारेको जनाएको छ। पसल सञ्चालकले भने उक्त घन्टी कानुनी रूपमा खरिद गरेको बताएका छन्।

प्रहरीले अनुसन्धानका लागि पदम कोली र धनीराम टमाटालाई पक्राउ गरेको छ। धार्मिक आस्था राख्नेहरूले मन्दिरमा चढाएका घन्टी पसलमा भेटिएपछि धर्मका नाममा लुट भएको भन्दै स्थानीय आक्रोशित भएका छन्।