पानी परिरहँदा बिग्रे भत्केका सडक मर्मतमा समस्या भएको छ । यसपटक मनसुन लम्बिएको र निरन्तर पानी परेकाले दशैँका लागि सडक मर्मत तथा सरसफाइको काम छिटो गर्न नसकिएको सडक विभागले जनाएको छ । तर दशैँसम्ममा मर्मत तथा खाल्डाखुल्डी पुरिसक्ने गरी तयारी अवस्थामा बसेको विभागको दाबी छ ।
असार, साउन र भदौमा निरन्तरको वर्षाले भत्केका मुख्य राजमार्ग तथा सडकमध्ये बेसीसहर–चामेबाहेक अरु सबैको मर्मत भइसकेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनुभयो । उहाँका अनुसार बेसीसहर –चामे सडक पनि दुई/तीन दिनमा खुलाउने गरी काम भइरहेको छ । अरु मुख्य राजमार्ग तथा सडकका खाल्डाखुल्डी पुर्ने काम दशैँसम्ममा हुनेछ ।
दशैँका लागि काठमाण्डौबाट यात्रुहरु बाहिरिन थालेका छन् । तर मुख्य सडक खाल्डाखुल्डीले धराप जस्ता बनेको यात्रु तथा गाडीधनीको गुनासो छ । यातायात व्यवसायीले यसअघि नै सडक मर्मत गरी सहज बनाउन सरकारसँग माग राखेका थिए । तर सडक विभागले अझै मर्मतको काम थाल्न सकेको छैन ।
‘पानी रोकिएको छैन, यो बेलामा हतार गरी खाल्डा पुर्न थाले पानी जमेर मर्मतको काम टिकाउ हुँदैन’ उपमहानिर्देशक अधिकारीले भन्नुभयो,‘जनशक्ति र उपकरण तयारी अवस्थामा राखेकाले मनसुन बाहिरिनेबित्तिकै सबैतिर धमाधम काम सुरु हुनेछ ।’
यसपालि गएको जेठ २८ गतेदेखि सुरु भएको मनसुन अक्टोबर २ अर्थात असोज १६ गते बाहिरिने अनुमान थियो । तर मनसुन लम्बियो । आज अक्टोबर ३ सम्म पनि पानी पर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले विभागले सोचेअनुसार काम गर्न नसकेको अधिकारीको भनाइ छ । साथै देशभरका मर्मत आवश्यक सबै राजमार्गमा एकैपटक काम गर्ने विभागको योजना छ ।
बुटवल–नारायणगढ, नारायणगढ–काठमाण्डौ खण्डको ठाउँ ठाउँमा पहिरो र खाल्डाखुल्डी छन् । काठमाण्डौ जोड्ने मुख्य सडक नै खराब हुँदा यात्रु र गाडीधनीले समेत सास्ती खेप्दै आएका छन् । डिभिजन सडक कार्यालय चितवनले यो सडकमा मर्मत तथा सुधारको काम भइरहेको जनाएको छ । यसपालिको बर्खामा पहिरो र ठाउँ–ठाउँमा सडक भासिएकाले यो सडकको यात्रा कठिन छ ।
‘सडक मर्मतसम्भार नियमित प्रक्रिया नै हो । बर्खा लगत्तै चाडपर्व आउने भएकाले यो बेलामा बिग्रे भत्केको मर्मत गर्नुपर्ने हुन्छ । उपमहानिर्देशक अधिकारीले भन्नुभयो,‘ साउनमै ठेक्कापट्टा लगाएर तयारी अवस्थामा छौँ, मनसुन बाहिरिएको एक हप्तामा धेरै सडक खाल्डाखुल्डीरहित बनाउँछौँ।’



