लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ ।

मुख्यमन्त्री राउतको विश्वासको मतमाथिको छलफलमा भाग लिदै प्रदेश- २ को लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । राउत नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाउँदै उनले भने,’मुख्यमन्त्री आफैं सुशासन कायम गर्छु भन्छन् तर अख्तियारले भ्रष्टाचार आरोपमा छापा मार्दा जुलुस निकालेर विरोध गर्छन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अख्तियारले छापामार शैलीमा छापा मारेर संघीयतालाई चुनौती दिएको मुख्यमन्त्री राउतक अभिव्यक्तिमा सोनलले भने, ‘अख्तियारको छापाले संघीयता समाप्त हुँदैन । यो संघीयता सयकरोडौँ मधेसीको आन्दोलन र कयौँको सहादतले आएको हो । अब मुख्यमन्त्रीले मार्गप्रशस्त गरेर अख्तियारको छानबिनमा सघाउनुपर्छ ।’

प्रदेश २ सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको उजुरीपछि अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

सोनलले सरकारले गरेका कामको संवैधानिकतामाथि पनि प्रश्न उठाए । गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको ४३ दिनपछि मात्रै विश्वास लिनुले कति संवैधानिक भन्दै उनले प्रश्न गरे ।