काठमाडौं, २३ असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका तीन वटा प्रदेशबाट मनसुन (वर्षा गराउने मौसमी प्रणाली) हटिसकेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पूरै क्षेत्र र लुम्बिनी प्रदेशका पश्चिमी भेगबाट शुक्रबार मनसुन हटेको हो ।

बाँकी प्रदेश तथा स्थानमा भने मनसुन कायमै छ । यो हट्न अझै केही दिन लाग्न सक्ने अनुमान मौसमविद्ले गरेका छन् । ‘अझै ३-४ दिनभन्दा पनि बढी लाग्न सक्छ’, शनिबार (आज) बिहान मौसमविद् नगरकोटीले भनिन् । अहिले (शनिबार बिहान ६ः४५) देशको पहाडी भेगमा मौसम आंशिक (आकाशको थोरै भागमा बादल, बाँकी खुला) देखि सामान्य (धेरै बादल, थोरै खुला) बदली छ भने तराई क्षेत्रका धेरैजसो स्थानमा मौसम सफा छ, आंशिक रूपमा मात्र बादल लागेको छ ।

यस्तै यतिबेला प्रदेश–१, बागमती र गण्डकीका पहाडी भगेका एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज (शनिबार) दिउँसो (भन्नाले बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना पनि छ ।

मौसमविद् नगरकोटीका अनुसार अपराह्नपछि काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ । ‘तर सम्भावना निकै न्यून छ’, उनले भनिन् । यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय