श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले तिहार लगत्तै सरकारको गति बढ्ने बताएका छन् ।

उनले अहिले मन्त्रालयको कार्ययोजना बनाउने काममा व्यस्त भएको भन्दै तिहारलगत्तै‘स्पिड’ बढ्ने दाबी गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा ९एकीकृत समाजवादी० रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले देखिने गरी काम गर्ने दाबी गरे ।

यस्तै मन्त्री श्रेष्ठले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोगेका समस्या समाधानका लागि कूटनीतिक रुपमा पहल गरिरहेको समेत बताए ।

उनले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएको समस्या, श्रम कार्यालयहरूलाई दिने सेवालाई छिटोछरितो बनाउने, श्रम सम्झौता भएका देशहरूसँग परामर्श गर्नेलगायतका काम भइरहेको बताए ।

उनले नेपालका लाखौं श्रमिकहरूलाई मध्यनजर गरेर श्रमिक अस्पताल बनाउने समेत बताए ।

‘विदेश जानेहरूलाई सहज रुपमा खोप लगाउने व्यवस्था हुन्छ,’ मन्त्री श्रेष्ठले भने, ‘त्यतिमात्रै होइन अब प्रत्येक बसपार्कमा नै बसेर खोप लगाउने सरकारको योजना छ ।’ उनले सकेसम्म युवाहरूलाई स्वदेशमै राख्ने वातावरण सिर्जना गर्न समेत सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री श्रेष्ठले बुटवलस्थित श्रम कार्यालयको समेत बुधवार नै अवलोकन गरेका थिए । उनले कार्यालयको भौतिक संरचनाको अभाव र थोरै संख्यामा मात्रै पुनस्स्वीकृति हुँदै आएकाले त्यसलाई चुस्त बनाउने बताए । उनले आफू भाषण भन्दा पनि काम गर्ने बताउँदै मन्त्री भएको ४ दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेको समेत जानकारी दिए ।