काठमाडौँ। प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता गगन थापाले सरकारको काम प्रति असन्तुष्टि जनाएका छन्। नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घले शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सरकारले सोचे जस्तो गति लिन नसकेको बताएका हुन्।

‘सरकारले जुन गति पक्रनु पर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौँ, त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर, जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ, फेरि हामीले अव अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ, यो बेला सम्हालिनु पर्नेछ।’ नेता थापाले सम्बोधनका क्रममा भने।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले नेपाल विश्वमा अर्थतन्त्रका हिसाबले चिनिएका दुई ठुला मुलुकको बिचमा रहेको भन्दै त्यसको फाइदा सरकारले लिन सक्नु पर्नेसमेत बताए। त्यसो नगर्ने हो भने एक पटक फेरी मौका छुट्ने थापाको भनाइ छ।

‘वर्ल्डको इकोनोमी सबै गतिविधि कहाँ छरु, चीन र भारत केन्द्रित छ, त्यसको नजिकमा हामी छौँ, यसभित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, यो अर्को १०, १५, २० वर्ष रहन्छ, यसभित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरि एक पटक मौका छुट्छ।’ थापाले अघि भने।

उनले प्रधानमन्त्री केपी ओली प्रति लक्षित गर्दै विगतको तीन वर्षको समय खेर गएकोसमेत दाबी गरे। ओलीको गिनिज बुकमा नाम लेखाउने रहरले सो समय खेर गएको उनले भनेका हुन्।