विराटनगर, प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार आह्वान गरिएको प्रदेशसभा बैठक रोक्न नेपाली कांग्रेस र सत्तारुढ एमालेले माग गरेका छन् । कांग्रेस गठबन्धनमा आवद्ध दल हो । प्रदेश १ सरकारको नेतृत्व एमाले सचिव आचार्यले गरिरहेका छन्। उनी गत भदौ १० गते मुख्यमन्त्री बनेका हुन् । एमाले विभाजन भएपछि आचार्यले संसदबाट विश्वासको लिन लागेका थिए ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आज १२ स्३० बजे आह्वान गरिएको थियो । तर कांग्रेस र एमाले दुवै दलले लिखित निवेदन दिएर बैठक रोक्न माग गरेका हुन् । दुवै दलको निवेदन परेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठकका बारेमा निर्णय लिन परामर्श थालेका छन् ।
तोकिएको समयमा बैठक बस्न सकिरहेको छैन । एक सांसदका अनुसार सत्तारुढ र विपक्षी दुवै दलले सभामुखलाई पत्र लेखेर बैठक स्थगन गर्न माग राखेपछि अन्योलता बढेको छ । ‘फ्लोर क्रस’ गरेर आफ्ना ३ सांसदले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन लागेको सूचना पाएपछि कांग्रेसले प्रदेशसभा बैठक रोक्न माग गरेको बताइएको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को भ्रमणमा रहेका कारण समय अभाव भएकाले बैठक रोक्न माग गरिएको बताएका छन् ।
त्यस्तै, एमालेले पनि बैठक स्थगनको माग गर्दै सभामुखलाई पत्र लेखेको छ । एमाले प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीद्वारा हस्ताक्षरित पत्रमा कात्तिक १५ गते बैठक बस्दा उपयुक्त हुने सुझाव दिइएको छ ।
नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत कात्तिक ९ गते पालिका अधिवेशन, १० र ११ गते स्थायी कमिटी बैठक, १२ र १३ गते केन्द्रीय कमिटी बैठक भएको हुँदा १४ गते बाटोको म्याद राखेर कात्तिक १५ गते बैठक बस्न उचित हुने दाबी एमालेको छ ।
९२ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ मत आवश्यक पर्छ । तर सत्तारुढ एमालेसँग ४१ जना मात्रै सांसद छन् । विपक्षी गठबन्धनमा ५० सांसद छन् । जसमा कांग्रेसका २१, नेकपा ९माओवादी केन्द्र०का १५, नेकपा ९एकीकृत समाजवादी०का १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन् । तटस्थ रहेको राप्रपासँग पनि १ जना सांसद छन् ।



