प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकै दिन प्रदेश १ को यात्रामा निस्किएका छन्।
प्रधानमन्त्री देउवा बेमौसमी वर्षापछि आएको बाढी पहिरोका कारण भएको क्षति अवलोकन गर्न आइतबार बिहानै प्रदेश १ मा पुगेका छन्।
सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र ऊर्जामन्त्री पम्फा भुसालसहित देउवाको टोली ​देउवासहितको टोली बिहा​न ८ बजे हवाइजहाजमार्फत काठमाडौँबाट प्रदेश १ पुगेको हो।

उनीहरुको साथमा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ पनि छन्। सशस्त्र प्रहरी बल प्रदेश कार्यालय ९पकली० मा पुगेर प्रधानमन्त्री देउवाले प्रदेश १ मा बाढीपहिरोका कारण भएको क्षतिको जानकारी लिएका छन्।

प्रधानमन्त्रीको टोली अहिले सुनसरीमा क्षतिको अवलोकनमा छ। प्रदेश १ का मोरङ, सुनसरी, पाँचथरसहितका जिल्लामा बाढीले ठूलो जनधनको क्षति गरेको छ। आफ्नो गृह प्रदेश सुदूरपश्चिम मात्रै गएको भनेर आलोचना भएपछि उनी प्रदेश १ मा पनि अवलोकनका लागि निस्किएका हुन्।

मनसुन बाहिरिइसकेपछि भएको अविरल वर्षाका कारण बाढीपहिरोमा आउँदा प्रदेश १ मात्रै ७२ जनाको मृत्यु भएको छ।

ओली पनि प्रदेश १ तिर

एमाले अध्यक्ष ओली पनि गृहजिल्ला झापा र मोरङमा हुने पार्टीको कार्यक्रममा सहभागी हुन प्रदेश १ तिर लागेका छन्। उनी यति एयरलाइन्सको जहाजबाट झापातिर लागेका हुन्।

ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभु साह पनि झापातिर लागेका छन्। अध्यक्ष ओलीसहितले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

सचिवालय सदस्य एवम् ओलीका संसद प्रतिनिधि होमबहादुर थापाका अनुसार अध्यक्ष ओलीले आइतवार बिर्तामोडमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

ओली तीन दिनका लागि पार्टी तीनजना शीर्ष नेतालाई लिएर लागि गृह जिल्ला पुगेका हुन्। अध्यक्ष ओलीसहितले झापा र मोरङमा हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्ने छन्। यसैगरी आइतवारै धुलावारीमा कार्यकर्ता भेटघाटलाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्ने जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए।

सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका(५ महारानी झोडामा साना किसान महिला सहकारी संस्थाको पाहुना घरको अध्यक्ष ओलीले उद्घाटन गर्नेछन्। त्यसपछि दिउँसो १२ बजे सीमावर्ति गौरीगन्ज बजारमा शुभकामना आदानप्रदान कार्यक्रममा उनी सहभागी हुनेछन्। दसैं, तिहार,नेपाल संवत्, छठ लगायतका पर्वहरूको अवसरमा पार्टी कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम राखेको हो। यो स्थान अध्यक्ष ओलीकै निर्वाचन क्षेत्रमा पर्छ।

यहाँ पार्टीका पुराना कार्यकर्ता र भूमिगतकालमा आश्रय दिनेहरु र उनीहरुका परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। सोमबार साँझ ओलीले विराटनगरमा पार्टी नेताहरुसँग आन्तरिक भेटघाट गर्दैछन्। ओली मंगलबार बिहान काठमाडौँ फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय