नेकपा एमालेका अध्यक्ष केपी ओलीले फेरि सत्तापक्षले विदेशीहरुको आडमा संविधान संशोधनको हल्ला फैलाएको बताएका छन् । आइतबार गृहजिल्ला झापामा नवनिर्वाचित प्रतिनिधिहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले सत्तापक्षले चलाएको सो हल्ला कुनै पनि हालतमा पास हुन नदिने बताए । उनले यो हल्लाभित्र तराई,पहाड र हिमाललाई अलग बनाउने गम्भीर षडयन्त्र लुकेको बताउँदै विदेशीको उक्साहटमा बनेको गठबन्धनलाई जनताले परास्त गरिसकेकोले यो योजना सफल हुन नदिने बताए ।
अर्को एक प्रसंगमा अध्यक्ष ओलीले दोश्रो चरणको चुनावमा धेरै ठाउँमा एमालेले एमालेलाई नै हराएकोले सो अन्तरघात गर्ने अन्तरघातीहरुलाई कारवाही हुने बताए ।
उनले भने ‘हामीले सधैं जित्ने गरेका ठाउँमा किन र कसरी हारियो ? मलाई एक साताभित्र स्पष्टकरण चाहिन्छ’ ओलीले भने, ‘सधैंभरि एमाले हुने एक दिन मतदान केन्द्रमा गएर रुखमा भोट हाल्ने मान्छे एमालेमा रहन पाउँदैन, त्यस्ता मान्छेको एमालेमा स्थान छैन ।’



