अब घर किन्नको लागि डेढ करोड सम्म ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको रकमको सीमा बढाउँदै यस्तो व्यवस्था गरेको हो ।
अहिलेसम्म बैंकहरुले आवासीय कर्जाका रुपमा घर किन्न १ करोड मात्रै ऋण प्रवाह गर्दै आएका थिए । अब भने १ करोड ५० लाख रुपैयाँसम्म आवासीय कर्जा पाउने गरी नयाँ मौद्रिक नीति सार्वजनिक गरिएको हो ।
आइतबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले १ करोड ५० लाख रुपैयाँसम्म आवासीय कर्जा दिन सकिने नयाँ ब्यवस्था गरिएको बताए ।
काठमाडौं उपत्यकाभित्र रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो) हालको ५० प्रतिशतबाट ४० प्रतिशत कायम गर्ने व्यवस्था गरिएको छ । अन्य स्थानका हकमा साविकको ५० प्रतिशत अनुपातलाई निरन्तरता दिइएको छ ।



