काठमाडौं :  अर्थमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का स्थायी समिति सदस्य जनार्दन शर्माले आगामी चुनावमा सत्ता गठबन्धमा रहेका पार्टीबीच सहकार्य र प्रतिस्पर्धा दुवै गर्न सकिने बताएका छन्। बिहीबार माओवादी केन्द्रको कागेश्वरी मनोहरा नगरसमितिले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा सत्ता साझेदार दलबीच चुनावी प्रतिस्पर्धा गर्न सकिने धारणा राखेका हुन्।

उनले प्रतिगमनविरुद्ध गठबन्धन बनेको भन्दै चुनावमा कुनै चिन्ता लिनु नपर्ने स्पष्ट पारे।‘प्रतिगमनविरुद्ध बनेको यो पाँच दलीय गठबन्धन लोकतन्त्र, राष्ट्र निर्माण र जनताको अधिकारको रक्षा गर्न बनेको गठबन्धन हो’, उनले भने, ‘यसो हुँदा चुनावको चिन्ता गर्नुपर्दैन। चुनावमा सहकार्य र प्रतिस्पर्धा दुवै गर्न सकिन्छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टीहरू प्रतिस्पर्धामा आफ्नै ढङ्गले रहेको भन्दै उनले प्रतिस्पर्धा र सहकार्यको नीतिका आधारमा गठबन्धन अगाडि जानुपर्ने बताए। उनले प्रतिगमनका विरुद्ध सहकार्य र आ(आफ्नो ठाउँमा प्रतिस्पर्धा गरेर जानुपर्ने धारणा राखे। ‘प्रतिगमनकारी तत्वहरूका विरुद्ध सहकार्य र आआफ्नो ठाउँमा प्रतिस्पर्धा गर्ने नीति लिएर जानुपर्छ’, मन्त्री शर्माले भने।

शर्माले सबै नागरिकले आफ्नो ठाउँबाट मुलुक बनाउन भूमिका खेल्छु भनेर संकल्प गर्नुपर्ने बताए। ‘राष्ट्र निर्माणको लागि सरकारले नीति बनाएर मात्र हुँदैन’, मन्त्री शर्माले भने, ‘सरकारको नीति कार्यान्वयन गर्नका लागि हरेक नागरिकले राष्ट्र निर्माणको संकल्प गर्न आवश्यक छ।’