काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा सबैभन्दा बढी मन्त्री सहभागी गराएर कीर्तिमान रचेका थिए । तर त्यसलाई केपी ओली प्रधानमन्त्री हुँदा उछिने । देउवाले आफ्नो पुरानो कीर्तिमानलाई अझ फराकिलो पार्ने लक्षण ल्याएका थिए एक सिटेलाई पनि समर्थनमा ल्याएर ।
तर अहिले भने उनी आफ्नै पार्टीभित्रको जञ्ंजालमा फसेका छन् । गत असार १४ गते गृह जिल्लाबाट फर्किएदेखि नै देउवा मन्त्रिपरिषद् विस्तार गर्न लागिपरेका छन् । तर सकिरहेका छैनन् । उनलाई समस्या अन्य दलबाट भन्दा पनि आफ्नै दलको भएको आरोप लागेको छ ।
किनकि राणा ससुराली हुँदैमा देउवाले आफू पनि राणाजस्तै बन्नु हुँदैनथ्यो । उनले कसैलाई नसोधी आफैले नै हचुवामा आफ्नालाई मन्त्रीपरिषद्मा छिराए । त्यसमाथि आफ्नै पत्नी आरजु राणा देउवाले रकम बुझ्दै स्थानीय तहको टिकट दिएको व्यापक चर्चा भइरहेको छ ।
स्थानीय तहमा त लाखौंको खेल हुन्छ भने मन्त्री जस्तो पदमा नहुने कुरै भएन । त्यसैले पनि आरजुका आँखा निकै तेज चलेको बताइन्छ । त्यसो त भारतीय मतियार विमलेन्द्र निधिले काँग्रेसलाई नै ध्वस्त पार्ने योजनाअनुरुप अरुलाई मन नपर्ने मान्छे मन्त्रिपरिषद्मा होमिरहेका छन् ।
एकातिर राष्ट्रिय जनता पार्टी नेपाल राजपाले कुनै पनि बेला सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको छ । त्यतिमात्र होइन संविधान संशोधनको माग पूरा नभए संसदबाटै बाहिरिनेसमेत चेतावनी दिएको छ । तर देउवा भने राजपालाई सरकारमा ल्याउने ध्यानमा छन् ।
राजपा नेताहरूले माग सम्बोधन नभएको भन्दै सरकारबाट समर्थन फिर्ताको चेतावनी दिइरहेका बेला राजपालाई नै सरकारमा सामेल गर्दा के हुन्छ भनी नयाँ परिस्थितिको सिर्जना भर्न खोजिएको हो ।
अहिले देउवालाई राजपाको भन्दा बढी चिन्ता आफ्नै दलको भइरहेको छ । पहिले त देउवाले रामचन्द्रका सम्धी र छोरालाई विशेष स्थान दिने बताएर फकाउन खोजेका थिए । तर देउवाले भन्छन् एउटा गर्छन् एउटा भन्ने थाहा पाएका देउवाले फेरि पनि चिढाए ।
होइन भने रामचन्द्रका सम्धीलाई अख्तियारको प्रमुख र छोरालाई राजदूत बनाउने आश्वासन रामचन्द्रले पाएको स्रोत बताउँछ । अहिले परिस्थिति बदलिएको छ । काँग्रेसभित्रको गुट उपगुट कोटा खोजिरहेको छ ।
स्रोतका अनुसार रामचन्द्र पौडेल पक्ष उपप्रधानमन्त्रीसहित चार जनालाई सरकारमा लैजानु पर्ने अड्डीमा छ । कृष्णप्रसाद सिटौला भिमसेन दास प्रधानलाई मन्त्री बनाउन कस्सिएका छन् । प्रकाशमान सिंह बलबहादुर केसीलाई मन्त्री बनाउन जोडतोडका साथ लागिरहेका छन् ।
खुमबहादुर खड्का पनि आफ्नो भाग खोजिरहेका छन् । खुमबहादुरले मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउन कम्मर कसेर लागेका छन् । त्यसैगरी डा सशांक कोइराला पुनः दीपक गिरीलाई मन्त्री बनाउन कस्सिएका छन् ।
काँग्रेसका गल्लीगल्लीमा नेता र गल्लीगल्लीमा मन्त्रीका आकांक्षी भएपछि देउवालाई निल्नु र ओकल्नु भएको छ । माओवादी केन्द्र पनि केही असन्तुष्ट देखिएको छ । माओवादीले ११ मन्त्री माग गरेकामा जम्मा ८ वटामात्र पाउने भएको छ ।
त्यसले केही असन्तुष्ट पैदा गरेको छ । फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार अझै केही मन्त्रालय माग गरिरहेका छन् । त्यस्तै गच्छदारलाई उपप्रधानमन्त्री दिएपछि अब राप्रपालाई पनि उपप्रधानमन्त्रीसहित पद दिन जोड गरिएको छ । स्रोतका अनुसार राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणा चार मन्त्री दिए पुग्छ भन्ने मनस्थितिमा छन् ।
तर कमल थापा भने आफूलाई पुनः उपप्रधानमन्त्री चाहिने अड्डीमा छन् । उनले ३७ सिटे आफूहरुलाई पनि उपप्रधानमन्त्री चाहिने बताइरहेका छन् । थापा र राणाबीच कुनै समझदारी छैन ।
एकले अर्कोलाई माइनस गर्नमै उनीहरुको दिन बित्ने गरेको स्रोत बताउँछ । यिनीहरुको यस्तै कर्तुतले गर्दा काठमाडौं महानगरपालिकाबाट उपमेयरमा राजाराम श्रेष्ठले बलिदानी दिनुपरेको तर्कसमेत गर्न थालिएको छ ।
यता, संघीय समाजवादी फोरमबाट उपेन्द्र यादवसमेत उपप्रधानमन्त्रीसहित सरकारमा जानसक्ने स्रोत बताउँछ । तर उनले भने सरकारमा जाने पार्टीको तत्कालको नीति नरहेको बताउँदै आएका छन् ।
अर्काथरी भने राजपालाई चिंढाउन पनि यादव सरकारमा जाने अनुमान गर्छन् । जोहोस् सरकारमा जानेको भीड छ । तर बाजी कसले मार्छ हेर्न बाँकी छ । (जनभावना साप्ताहिक)



