प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १६ करोड गाडी खरिद गर्ने सम्बन्धमा कुनै प्रस्ताव नआएको बताएका छन् ।
व्यवस्थापिका संसद्को सोमबार बसेको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रपतिका लागि गाडी किन्ने प्रस्ताव नआएको बताएका हुन् ।
संसदमा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले राष्ट्रपतिको गाडी खरिद प्रस्ताव बारे साधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री देउवाले महंगो गाडीको प्रस्ताव राष्ट्रपतिबाट नआएको जानकारी दिए ।
‘राष्ट्रपतिबाट महङ्गो गाडीको प्रस्ताव भएको छैन, राष्ट्रपति देशको हाइएस्ट पोजिसन हो । त्यसकारण उहाँको सुरक्षा व्यवस्था गर्नुपर्ने र त्यस्तै किसिमको गाडि किन्नुपर्ने अवस्था आउँछ ।’ प्रधानमन्त्री देउवाले भने ‘ राष्ट्रपतिले सुरक्षीत खालको गाडी चड्नु स्वभाविक पनि हो ।’
राष्ट्रपति विद्या भण्डारीले पूर्व राष्ट्रपति रामवरणले चढेको पुरानो गाडीको प्रयोग गरिरहेको र उत्त गाडीमा समस्या आएका कारण नयाँ गाडीको आवश्यकता पारेको जनाएको छ ।
सुक्षाका हिसावले पनि राष्ट्रपति सवार हुने सवारी चुस्त र राम्रो अवस्थामा हुनु पर्ने भएपनि सवारीका क्रममा रोकिने, पिकअप नलिने लगायतका समस्या आएका कारण नयाँ गाडीको आवश्यकता परेपनि राष्ट्रपतिले यति नै मूल्यको गाडी चाहियो नभनेको राष्ट्रपतिका सल्लाहकार माधव शर्माले बताए ।
यसअघि राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको समाचार सार्वजनिक भएको थियो ।
राष्ट्रपति चढ्ने गाडी खरिदका लागि सरकारले ४ करोड रुपैयाँ उपलब्ध गराए पनि त्यसले नपुग्ने भन्दै राष्ट्रपति कार्यालयले १६ करोड रुपैयाँ माग गरेको समाचार सार्वजनिक भएसँगै राष्ट्रतिको आलोचना सामाजिक सञ्जालहरुमा भएको थियो ।



