नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका हुन्।
उनले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरूसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताए।
प्रचणडले आराम गर्दै, रमाइलो मान्दै (रोमान्स) जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै समाजवादतर्फ इमान्दार हुने कम्युनिष्टहरू ढिलो-चाँडो पुरानो घरमा फर्किएर आउने बताए।
प्रचण्डले भने, 'म यो मञ्चबाट भन्न चाहन्छु ढिलो-चाँडो , विप्लवजी पनि आउनुहुन्छ भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु, अलग बसेर होइन, हामी सबै एक ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लान सकिन्छ, कुनै रोमान्सजस्तो गरिकन लैजान सकिँदैन।'
किरण, बाबुरामलगायत फेरि एकपटक एकताबद्ध हुनुपर्नेमा उनको जोड थियो।
'त्यसकारण मलाई विश्वास छ अहिले कुराकानी पनि चलिरहेको छ, किरणजीहरू, बाबुरामजीहरू, विप्लवजीहरू र अरू समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमान्दार हुने सबै कम्युनिष्टहरू फेरि एकपटक एकताबद्ध हुनैपर्छ, मलाई विश्वास छ, हामीले धेरै ठूलो संघर्ष र बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई ल्याएका छौं', उनले भने, 'हामी जानु अझ धेरै टाढासम्म छ, त्यो यात्रा हामी सबैले आपसमा हातेमालो गरेर मात्रै पार गर्न सकिन्छ, एक्लै पार गर्छु भन्यो भने त्यसको नियत जे सुकै भए पनि नियति क्षतविक्षत हुनुबाहेक अर्को हुँदैन।'
कार्यक्रममा उनले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताए।
उनले एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने बताए।
प्रचण्डले कोही एक व्यक्तिको चाहनामा र लहर चल्दैमा क्रान्ति नहुने भन्दै प्रचण्ड नेपाली जनताले जन्माएको बताए।
उनले प्रचण्ड व्यक्ति नभई सही विचार, बलिदान, संघर्षको प्रतीक भएको पनि बताए।
प्रचण्डले भने, 'कसैले चाहँदैमा लहर चल्दैमा क्रान्ति हुने पनि होइन, फेरि प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माएको होइन, नेपाली जनताले जन्माएको, तपाईं हामी सबै लडेर निर्माण गरेको हो, प्रचण्ड व्यक्ति होइन, फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैन, थुप्रै लेनिन, माओ हुने हुँदैन, एउटा समय र एउटा कालमा जनताले पैदा गर्ने हो, आन्दोलनले, संघर्षले, बलिदानले पैदा गर्ने हो, सही विचारले पैदा गर्ने हो, सही निर्णयहरूले पैदा गर्ने हो, त्यो पैदा गरेको कुरालाई वर्ग संघर्षले र प्रतिक्रियावादीले सिध्याउन खोज्छन्, जनताले त्यसलाई बचाउन खोज्छन्, आज तपाईंहरू क्रान्तिको रक्षाको निम्ति, क्रान्तिका उपलब्धिको रक्षाका निम्ति, माओवादी आन्दोलनको रक्षाका निम्ति, प्रचण्डको रक्षाका निम्ति तपाईंहरू आउनुभएको छ, म हृदयदेखि तपाईंहरूलाई धन्यवाद दिन्छु।’
प्रचण्डले प्रतिक्रियावादीहरू माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको बताए।










