युएई, कात्तिक ३ – कलकलाउँदो उमेर । भर्खरै २४ वर्ष लागेका जीतकुमार अहिले सुतेको ठाउँ छोड्न नसक्ने गरी थलिनु भएको छ ।
काम गरेर पैसा कमाउँला र नेपाल फर्केर परिवारसँग रमाउँला भन्ने सपना बोकेर दुवई आएका जीतकुमार अहिले जिन्दगीबाट हारेको महसुश गर्दै हुनुहुन्छ । १० महिनाअघि युएई आएका उहाँले यहाँ आएको साढे पाँच महिनामात्रै काम गर्न सक्नुभयो ।
लमजुङको मन्ज्याङ ४ का जीतकुमार काठमाडौंको प्याराडाइस म्यानपावार कम्पनीमार्फत युएई आउनु भएको हो । ९५ हजार रुपैयाँ तिरेर साउदी अरबको सिमानामा रहेको कोरियन कम्पनी हनलिम इञ्जिनियरिङ एण्ड कस्न्ट्रक्सन कम्पनीमा आएका जितकुमार हल न चल भएर कम्पनीकै कोठामा सुतिरहनु भएको छ ।
कम्पनीमा आउँदा उहाँ ११ सय दिहराम तलब हुने गरी आउनुभएको थियो । कम्पनीले बनाउन ठेक्का लिएको भवनमा ड्युटीमा खटिनु पर्ने थियो ।
काममा सिरहाका राजाराम पनि सँगै हुनुहुन्थ्यो । एकदिन क्रेनमा चढेर भित्ताको काम गर्दागर्दै अचानक क्रेन ढल्यो । क्रेन ढल्दा क्रेनको बक्समा बसेर काम गरिरहेका जीतबहादुर पनि खस्नुभयो । क्रेनको बुम खसेर जितकुमार किचिनु भयो ।
जितकुमारसँगै काम गरिरहेका क्रेनका रिगर तथा फोरम्यान राजाराम ठाउँको ठाउँ ढले । क्रेनको डोरी समातेर इशारा गर्ने अर्का रिगर बंगालादेशी जसिमको घटनास्थलमै ज्यान गयो । जितकुमार भने दुई दिनपछि होशमा आउनुभयो ।
होशमा आउँदा उहाँ अल रुविस अस्पतालमा हुनुहुन्थ्यो । उहाँ बस्दै आएको कम्पनीको क्याम्प अल रुविस आबुधाबीबाट झण्डै दुई सय ६० किलोमिटर टाढा र विकट ठाउँमा पर्छ । त्यो ठाउँबाट पनि उहाँको कम्पनी भएको ठाउँमा पुग्न झण्डै एक घण्टा अरु समय लाग्छ ।
जीतकुमारको उपचारका लागि कम्पनीले सबैजसो अस्पताल पुर्यायो । तर उहाँ अझै निको हुनु भएको छैन । दाँया हातदेखी तल सबै ठाउँमा चोट लागेको थियो । देब्रे खुट्टा भाँचिएको छ । घाँटीको नसामा समस्या देखिएकाले टाउको चलाउन मिल्दैन । हात पनि भाँचिएकोले केही समाउन मिल्दैन । हत्केलाले केही कुरा महशुस नै गर्दैन् । त्यसैले उहाँलाई मुढो सरह बिस्तारामा पल्टिनुपर्ने बाध्यता छ ।
दुर्घटनामा परेको ४५ दिनसम्मको न्युनतम तलब कम्पनीले दियो । तर अहिले तलब दिएको छैन । तनहुँको दमौलीका डम्बर बहादुर नेपालीलाई जितकुमारको स्याहारसुसार गर्न कम्पनीले खटाएको छ । तर आउँदो महिना नेपाल नगए सुसारेको तलब, दुई जनाले खाएको, कोठामा बसेको भाडा समेत लाग्ने भन्दै जितकुमारको भिसा क्यान्सिल गर्न राजीनामा पत्रमा हस्ताक्षर गर्न लगाएको छ ।
कम्पनीले आउँदो अक्टोबर २८ अर्थात कात्तिक १२ गते जीतकुमारलाई नेपाल पठाउने भनेको छ । तर अहिलेसम्म उहाँले क्षतिपूर्ति पाउनुभएको छैन् । कम्पनीले धम्क्याएर उपचार नगराइ नेपाल पठाउन खोज्दै छ ।
काम गर्दागर्दै दुर्घटना भए कम्पनीले आवश्यक उपचार खर्चदेखि क्षतिपुर्ति दिनुपर्ने कानूनी व्यवस्था छ । तर कम्पनीले अहिलेसम्म बिमा बापतको रकम समेत दिएको छैन् ।
जीतकुमारले दुवई उड्नु अघि परिवारलाई भरतपुरमा कोठा भाडामा लिएर राख्नुभएको थियो । उमेर पाकेका बुढी आमा र श्रीमतीलाई अहिले पैसा पठाउन नसक्दा झनधेरै पिडा हुन्छ । ‘काम गरेर कमाउँला भनेर आएको मान्छे, रित्तो हात भएको छु । त्यसमाथि काम नलाग्ने मुढो शरीर लिएर फर्किनु पर्ने भएको छ’ भक्कानिदै जितकुमारले भन्नुभयो, नेपाली दूतावास र नेपाली संघसंस्थाले मलाई सहयोग गर्न सक्नुहुन्थ्यो कि ?
उमाकान्त पाण्डे/उज्यालो