चिनियाँ स्मार्टफोन कम्पनी साओमीको आउँदो नयाँ हाइ–इन्ड फोन साओमी–१२ को चर्चा बढिरहेको छ। उपभोक्तामा यो स्मार्टफोनको प्रतिक्षा बढेसँगै यसका केही फिचरहरु अनलाइनमा पनि लिक भएको छ।

ग्याजेट ३६०का अनुसार पहिले नयाँ साओमी–१२ मा क्वालकम स्न्यापड्रैगन ८ जेन एसओसी प्रोसेसर हुने भनिएको थियो। हालै भएको लिकले यो फोनमा ५० मेगापिक्सलको प्राइमेरी सेन्सर हुने देखाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टिप्स्टर डिजिटल च्याट स्टेसनले साओमी–१२ मा ५० मेगापिक्सलको मुख्य क्यामरासहित तीनवटा क्यामरा हुने जनाएको छ। जसमा अल्ट्रा–वाइड एंगल, पेरिस्कोपिक र टेलिफोटो लेन्स हुनेछ। यसको अगाडितिरको सेल्फी क्यामरा भने अन्डर–स्क्रिन डिजाइनको हुनेछ।

साथै यो फोनमा फुल एचडी प्लस स्क्रिन र १०० वाटको फास्ट चार्जिङ पनि हुने ग्याजेट ३६०ले जनाएको छ। यसैगरी यसको अर्को नयाँ फोन ‘साओमी–१२ अल्ट्रा’मा भने चारवटा क्यामरा हुने बताएको छ।

साओमीले हालसम्म आफ्नो यी नयाँ स्मार्टफोनबारे कुनै जानकारी दिएको छैन, तर केही रिर्पोटका अनुसार साओमी–१२का सिरिज डिसेम्बर महिनामा सार्वजनिक हुने अनुमान छ।