नेकपा एमालेले मधेस लक्षित कार्यक्रम सुरू गर्ने तयारी गरेको छ । विशेष गरेर असोज २ गतेको तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमालेले योजना बनाउन लागेको हो ।
गतसाता सप्तरीको तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, बसबिट्टी, पौवा, मुसहरनिया पिपराही, रूपनी, पकरी, त्रिकौल, लोहजारा, मैनाकडेरी, भारदह, पोर्ताहालगायतका ठाउँ बाढीले जलमग्न बनाएपछि एमाले राहत बोकेर मधेस झरेको छ । एमाले दुई नम्बर प्रदेश कमिटी, जनवर्गीय संगठनहरू बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगेका छन् ।
त्योसँगै एमालेले चुनाव लक्षित योजना पनि बनाएको एमाले सचिव प्रदीप ज्ञवाली बताउँछन् ।
विशेष गरेर एमालेलाई लाग्दै आएको मधेस विरोधी आरोपको खण्डन गर्न, पहिलो र दोस्रो चरणमा एमालेले प्राप्त गरेको मतको प्रभाव बिस्तार गर्न पनि अभियान फलदायी हुने विश्वास एमालेको छ ।
“बिस्तृत योजना त बनाइसकेका छैनौँ,” एमाले सचिव ज्ञवाली भन्छन्, “हामी छिट्टै तराई झर्दैछौँ ।”
उनले डुबान, कटान र बाढीको सामना गरिरहेको तराईमा ठूला सभाको आयोजना गर्न नसकिए पनि भेला बैठकमार्फत आफ्ना कुरा राख्ने एमालेको योजना छ । र, ती भेलाहरूलाई सम्बोधन गर्न अध्यक्ष केपी ओली पनि जाने सचिव ज्ञवाली बताउँछन् ।
“विस्तृत योजना पछि बनाउने छौँ । केही ठाउँहरूमा सम्बोधन गर्न पार्टी अध्यक्ष जानुहुन्छ,” उनले भने ।
संविधान निर्माण पछि चिसिएको मधेस केन्द्रित दल विशेष गरेर राष्ट्रिय जनता पार्टीसँगको सम्बन्ध पछिल्लो समय सुधार्न लागिएको छनक नेताहरूले दिएका छन् ।
दोस्रो चरणमा निर्वाचन भएको पूर्वी तराई र पश्चिमी तराईमा एमाले राम्रै मत पायो । राजपासँगको चिसोपना हटाउन सके अबरोध नबेहोर्ने र दुई नम्बर प्रदेशमा पनि आशातीत मत ल्याउन सकिने विश्वास एमालेको हुन सक्छ ।
‘मधेसी जनतामा निराशा छाएको छ’
एमाले स्थायी कमिटी सदस्य एवम् दुई नम्बर प्रदेशका इन्चार्ज सत्यनारायण मण्डल सबैतिर चुनाव हुने तर दुई नम्बर प्रदेशमा पटक–पटक चुनाव सर्दा जनतामा निराशा उत्पन्न भएको बताउँछन् ।
“निर्वाचन स्थगित नहुँदासम्म जनता उत्साहित थिए । प्रचार–प्रसारमा जुटेका थिए । चुनाव हुन्छ, हामीले पनि जनप्रतिनिधि पाउने भयौँ भन्ने आशाले तराई–मधेसका जनता खुसी भएको थिए,” उनले थपे, “फेरि पनि चुनाव हुने हो कि नहुने हो भन्ने द्विविधा यहाँका जनतालाई छ । तोकिएकै समयमा निर्वाचनसम्पन्न होस् भन्ने माग पनि छ ।”
उनले निर्वाचनको वातावरण बनाउन पनि एमालेले तराईमा छिट्टै गतिविधि सञ्चालन गर्नुपर्ने औँल्याए ।
आन्दोलनरत राजपाले पनि आफ्ना मुद्दालाई पनि जनताकै बीचमा लैजाने गरी निर्वाचनमा होमिनुपर्ने उनको धारणा थियो । “हामी साउनको पहिलो यो दोस्रो साता नै सबै उमेदवारी टुंग्याउँछौँ र जनताको घर दैलोमा जान्छौँ, आफ्ना कुरा राख्छौँ,” उनले योजना सुनाए ।
सप्तरीलगायत केही जिल्लामा बाढी, डुबानले समस्या निम्त्याउने भएकाले उद्धार र राहतका लागि तम्तयार रहन पार्टी पंक्तिलाई अनुरोधसमेत उनले गरे ।



